ट्रेण्डिङ

होमपेज / राजनीति

एमालेले लगाइदिएको फुली अन्तरे जन्तरेहरूले फिर्ता गर्नु पर्दैन ?

नेपालगाथा २०७८ चैत्र ६ गते आइतबार १६:५७:२९ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले 'वैचारिक क्षमता, सुशासन, भ्रष्टाचारविरुद्ध गरेको कार्य देखेर एमालेका अन्तरे/जन्तरे मिलेर पार्टीको सरकार ढालेको' बताएका छन् ।

आफ्नो पार्टीबाट निर्वाचित भएका मेयर र सांसदहरूले राजीनामा नदिएको भन्दै उनले आलोचना गरे ।ओलीले पार्टीका कार्यकर्ताले जुत्ता-चप्पल खियाएर र पसिना बगाएर लगाइदिएको सांसदको फुली लगाएर एमालेको बाकस खाली गर्छु भन्नेलाई जनताले जवाफ दिने बताएका छन् । 

एमाले कसैलाई पनि झुक्याउने पार्टी नभएको उनको भनाइ छ । दुई/चारवटा पात झरे पनि एमाले सतिसालका रूपमा रहने भन्दै उनले आसन्न स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका ‘पाँच दललाई एउटै कुचोले बढार्ने’ जिकिर गरे ।

उनले भने, ‘हेर्नुस्त, एमाले कार्यकर्ताले जुत्ता-चप्पल खियाए र पसिना बगाएर अन्तरे-जन्तरेलाई भोट हालेकाहरूले राजीनामा गर्नुपर्दैन ? भत्ता खाइराख्ने ? एमालेले लगाइरहेको सांसदको फुली, मेयरको फुली बोकेर फिर्ता गर्नुपर्दैन ? विचार गर्नुस् त, कति साह्रो लाज नभएको ? कमसेकम एमालेले टाँसिदिएका जुँगा त खौरिएर छोड्नुपर्छ नि । एमालेले लगाइदिएको जुँगामा ताउँ लगाएर एमालेको बाकस खाली गर्छु भन्ने ? बाकस कसको खाली हुन्छ म भन्दिनँ, तपाईंहरूले जवाफ दिनुपर्छ । यस्ता गुन बिर्सिने र स्वार्थका पछाडि कुद्ने तत्वहरुलाई तपाईंहरूले मुखभरिको जवाफ दिनुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top