होमपेज / राजनीति
काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि (बुधबार) बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी) टेबुल हुने बताएका छन् ।
मंगलबार संसदीय दलको बैठकमा बोल्दै उनले कांग्रेस तत्कालीन नाफा–घाटा हेरेर कर्तव्यच्युत नहुने बताएको बैठकपछि सांसद गगन थापाले जानकारी दिए।
‘मैले सभामुखसँग यस विषयमा परामर्श गरेको छु र म भोलि टेबुल हुन्छ भन्ने कुरामा विश्वस्त छु भनेर सभापतिज्यूले भन्नुभएको छ’ उनले भने ।“तत्कालीन नाफा–घाटा हेरेर कर्तव्यबाट च्युत भयो भने नेपाली कांग्रेसको छुट्टै परिचय रहँदैन । यसको नाफा–घाटा जेसुकै होला, नेपाली कांग्रेसले आफ्नो कर्तव्य पूरा गर्छ । यो नेपाली कांग्रेस नेतृत्वले प्रस्तुत गर्न लागेको विधेयक होइन । प्रतिपक्षमा रहँदा र सरकारमा रहँदा डबल स्टान्डर राख्दैन,” प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै थापाले भने ।
यसैबीच, कांग्रेस संसदीय दलको बैठकले एमसीसी परियोजना सदनबाट पारित गर्न सबै राजनीतिक दलहरूलाई आह्वान गर्ने निर्णय गरेको छ ।