होमपेज / राजनीति
काठमाडौं। अमेरिकी सहायता परियोजना एमसीसीको मुख्यालयलाई पठाएको प्रतिबद्धता पत्र सार्वजनिक भएपछि माओवादी केन्द्रभित्र तरङ्ग पैदा भएको छ ।
‘प्रचण्ड’ यसबेला अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) का कारण दोबाटोमा उभिन आइपुगेका छन् ।अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चर्को आलोचना भइरहेको छ, यतिबेला । प्रचण्ड एकप्रकारले दबाबमा छन् ।
त्यही कारणले पार्टीमा थप अन्यौलता सिर्जना भएको छ।आइतबार साँझ प्रचण्डको सचिवालयले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि एमसीसीलाई पत्र लेखिएको बताएको छ।पत्र सार्वजनिक भएपछि त्यसबारे धारणा बनाउन माओवादी केन्द्रका नेताहरू आन्तरिक छलफलमा पनि जुटेका छन्।'शेरबहादुरजीले हामीले सहमति जनाएर चिठी पठाइसक्यौँ भनिदिनुभएछ, त्यसले तरङ्ग पैदा भएछ। हामीले त्यस्तो चिठी पठाएका छैनौँ ।’एमसीसी पास गर्छौं भनेर पत्र पठाएको विषय प्रधानमन्त्री देउवाले खुलासा गरिदिएपछि प्रचण्डले त्यसको बचाउमा १९ कात्तिकमा भनेका थिए।
प्रचण्डले एकातिर एमसिसी परिमार्जन नगरी पारित गर्न सकिँदैन भनेका थिए भने अर्काेतिर एमसीसी बोर्डलाई पठाएको लिखित पत्र सार्वजनिक भएपछि नैतिक बन्धनमा बाँधिँदै उनी दोबाटोमा उभिन पुगेका हुन् ।खासगरी अमेरिकासँग अनुमोदनको प्रतिवद्धता जनाउने तर नेपालमा रोक्ने काम गरेको भन्दै प्रचण्डको आलोचना भइरहेको छ ।
दाहालमा देखिएको यस्तो चरित्रले हाम्रो आन्तरिक राजनीतिमा मात्र असर पुर्याएको छैन, देशको बाह्य सम्बन्धमा पनि अनावश्यक दरार उत्पन्न गरेको छ । प्रचण्डको सचिवालयले त गठबन्धन जोगाउनका लागि त्यतिबेला पत्र लेखिएको समेत बताएको छ ।
हालै सम्पन्न माओवादी केन्द्रको महाधिवेशनमा पनि एमसीसी पास गराउने विषयमा भूमिका निर्वाह नगर्नका निम्ती कार्यकर्ताहरूले प्रचण्डलाई दबाब दिएका थिए ।आठौं महाधिवेशनमा जवाफ दिने क्रममा पनि प्रचण्डले ‘एमसीसीलाई रणनीतिकरुपमा प्रयोग गर्नुपर्छ, अहिले धेरै नबोलौं है’ भनेर कार्यकर्ताहरुलाई सम्झाउने प्रयास गरेका थिए ।
देउवा र प्रचण्डले हस्ताक्षर गरेर पाँच महिनाअघि एमसीसीलाई पठाएको पत्रमा ‘एमसीसी पारित गर्ने तर त्यसका लागि समय चाहिने’ व्यहोरा उल्लेख छ ।प्रचण्डले दोधारे नीति अवलम्बन गरेका छन ।
जस्तोसुकै कठिन परिस्थितिमा पनि कडा निर्णय गर्न सक्ने नेताका रुपमा चिनिएका ‘प्रचण्ड’ यसबेला कुन बाटाे राेज्ने भन्ने कुरामा अलमल्ल छन।