होमपेज / राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पार्टी र देशकै अभिभावक भएकाले उहाँलाई पार्टी नेतृत्वको जिम्मेवारी दिएको बताएका छन् ।
न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उनले सहमतिमा जान नसकेमा वरिष्ठ नेताहरूबाट सहमतिमा जाने कुरा चलेकोले महासचिवमा आफ्नो नाममा प्रस्ताव आएको पनि बताए।‘…उहाँहरु दुईजना बीचमा सहमति हुन नसकिरहेको अवस्थामा तेस्रो सहमतिको उम्मेदवार खोज्नुपर्ने र सहमतिको लागि सिनियर कम्रेडहरु नै खोज्नुपर्छ भन्ने कुरा गरिरहनुभएको छ । …लिडरसीपले सेटिङ गरेअनुसारको जिम्मेवारी नाइनास्ती गर्ने भन्ने कुरो भएन, अस्वीकार गर्ने भन्ने कुरा हुँदैन’ उनले भने ।
पुस २५ गते बस्ने पार्टी कमिटीको बैठकले पदाधिकारीहरूको बारेमा टुंगो लगाउने र त्यो सबैको राय, परामर्श, सुझावका आधारमा हुने उनको भनाइ छ ।नेता गुरुङले भने, ‘सडकदेखि सरकारसम्मका सबै प्रक्रियाबाट जानुपर्ने अवस्थामा सायद एकल पदभन्दा पनि बहुपद नै उपयुक्त हुन्छ कि भन्ने कुरा उठेर विधानमा बहुपदको व्यवस्था गरिएको हो । र लिडरशीपको सन्दर्भमा अहिलेसम्मको आन्दोलनको प्रक्रियाबाट हेर्दा जनयुद्धभन्दा पूर्वदेखि जनयुद्धको १० वर्ष शान्ति प्रक्रिया, सबै प्रक्रियामा नेतृत्व गर्दै आइरहेको एउटा पुरानो निरन्तरताको लिडरशीप मुलुककै निम्ति एउटा अभिभावकजस्तो, संरक्षकजस्तो नेतृत्व रहेको हुनाले लिडरशीपको सन्दर्भमा उहाँकै नेतृत्व भएको कुरा स्वभाविक कुरा हो ।’