ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा माओवादी केन्द्रलाई ‘क्लस्टर’ अनुसार तोकिएको संख्या मिलाउन सकस

नेपालगाथा २०७८ पौष १८ गते आइतबार १०:३१:२९ मा प्रकाशित

काठमाडौं । ‘इन्द्रेणी’ रंग जस्तै समावेशी केन्द्रीय समिति बनाउने उद्घोष गरेको नेकपा (माओवादी केन्द्र)लाई ‘क्लस्टर’ अनुसार तोकिएको संख्या मिलाउन सकस परेको छ ।

 केन्द्रीय सदस्य चयनका लागि शनिबार तय गरिएको निर्वाचन कार्यक्रम आइतबार दिउँसोसम्मका लागि स्थगित गरेको छ ।माओवादीको जारी आठौं महाधिवेशन हलबाट शनिबार पारित भएको विधानमा महिलाको प्रतिनिधित्व पार्टीमा ३५ प्रतिशत हुने भनिएको छ। यो हाल सरकारले दिँदै आएको आरक्षण भन्दा पनि दुई प्रतिशत बढी हो।

माओवादी केन्दका नेता दलजित श्रीपाइलीका अनुसार सहमतिमा केन्द्रीय सदस्य चयनमा सकस भएकाले निर्वाचन तालिका प्रभावित भएको हो । सबैलाई मिलाएर सहमतिमै केन्द्रीय सदस्य टुंग्याउने गरी स्थायी कमिटीले गृहकार्य गरिरहेको उनले बताए ।

माओवादीले दलितको हकमा पनि अगाडि बढ्दै १५ प्रतिशतको प्रतिनिधित्व गराउने व्यवस्था विधानमा गरेको छ। दलतिको जनसंख्या १३.६ प्रतिशत भए पनि विगतको क्षतिपूर्तिस्वरुप माओवादीले त्यसलाई बढाएर १५ प्रतिशत प्रतिनिधित्व गराउने भनेको थियो। त्यस्तै मुस्लिमको ५ प्रतिशत र सबै समूहबाट ४० वर्षसम्मका युवाको २० प्रतिशत प्रतिनिधित्व अनिवार्य हुने व्यवस्था विधानमा गरेको थियो।

 प्रदेशहरुले पनि नेताहरुको नाम सिफारिश गरिसकेका छैनन् । नेताहरुका अनुसार क कसको नाम सिफारिश गर्ने भनेर प्रदेश कमिटीमै सहमति हुनसकेको छैन ।

समानुपातिक पद्धतितर्फको केन्द्रीय सदस्यका लागि तय गरिएको क्लस्टरमा पनि कतिपयले असन्तुष्टि जनाएका छन् । दलित समुदायले आफूहरुले विगतमा पाउने भनिएको भन्दा कम प्रतिशत दिन खोजिएको भन्दै विरोध जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top