होमपेज / राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको आवश्यक्ता झनै बढेर गएको बताएका छन् ।
अध्यक्ष लिङ्देनले सिक्किम विलय भएको दृष्टान्त पेस गर्दै राजसंस्था नभए नेपाल पनि विलय भएर जाने खतरा समेत औँल्याए ।स्वर्गीय राजा वीरेन्द्रको स्मृतिमा बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजसंस्था नहुँदा २०३२ सालमा सिक्किम देश विलय भएको र नेपालमा पनि अहिले त्यो खतरा बढेर गएको दावी गरे ।
देशलाई अरू देशको खतराबाट टार्न समेत राजसंस्था आवश्यक रहेको उनको भनाइ छ ।उनले स्व. राजा वीरेन्द्र जनप्रेमी र देशभक्त राजा भएको पनि उल्लेख गरे ।
अध्यक्ष लिङ्देनले भने, ‘म केटाकेटी नै थिए–२०३२ सालतिर होला । जब सिक्किममा राजसंस्थाको अन्त्य भयो । जनताका प्रतिनिधिहरुले भन्नेले त देशै भारतमा विलाई दिए । ओहो, राजा भएन भने त देशै सकिने रहेछ, जब मेरो बाल मस्तिष्कमा पर्यो । राजाको अभावमा, राजसंस्थाको अभावमा हाम्रो पनि देश कुनै पनि बेला त्यस्तो खतरामा पर्नसक्छ भन्ने मलाई लागेको थियो । आज पनि म जहाँ जाँदा पनि राजसंस्थाको कुरा गर्दा जनतालाई भन्ने गरेको छु –२०३२ सालसम्म हाम्रो छिमेकमा सिक्किम भन्ने देश थियो । त्यसबेला भन्दा अझ मैले अहिले बढि बुझ्छु । किन, त्यसबेला त थोरै थोरै बुझे । ए, राजा हट्यो, सिक्किम पनि सकियो । एउटा देश पनि समाप्त भो भन्ने मात्रै थियो । तर अहिले यसो हेर्छु । सिक्किम भन्ने नाम पनि छ । त्यहाँको भूगोल पनि छ । त्यहाँको माटो कसैले बोकेर लगेको छैन । सिक्किम सिक्किमै छ । तर सिक्किम भन्ने देश त छैन ।’