होमपेज / राजनीति
सुर्खेत । नेकपा एमाले जिल्ला कमिटी सुर्खेतकाे बैठक शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । शुक्रबार पार्टी स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश ईन्चार्ज यामलाल कंडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे बैठकले आठौ जिल्ला अधिवेशनका बारेमा महत्त्वपूर्ण निर्णय गरेकाे हाे । बैठकले केन्द्रीय कमिटीले निर्धारण गरे बमोजिम पुस २३ र २४ गते वीरेन्द्रनगरको सभा गृहमा पार्टीको आठौं जिल्ला अधिवेशन गर्ने निर्णय गरेकाे छ ।
बैठकले जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनौट यही पुस १७ गते शनिबारका दिन जिल्लाका ९९ वटै वडामा एकै दिन गर्ने निर्णय गरेकाे छ । प्रतिनिधि छनौटका लागि मापदण्ड पनि बनाएकाे छ । अन्य जातिजनजाति क्षेत्रबाट ३० जना संगठित सदस्य बराबर १ जना प्रतिनिध र दलित क्षेत्रबाट २० जना संगठित सदस्य बराबर १ जना प्रतिनिधि छनाैट गर्ने निर्णय गरेकाे छ । यसरी छनौट गर्दा ३३% महिला अनिवार्य हुनुपर्ने बैठकले निर्णय गरेकाे छ ।

यसै गरी बैठकले अधिवेशन ब्यबस्थापनका लागि केही महत्त्वपूर्ण समितिहरु निर्माण गरेको छ। जसअन्तर्गत प्रतिवेदन लेखनकाे संयोजकमा ध्रुबकुमार शाही, आर्थिक प्रतिवेदन तथा ब्यबस्थापन संयोजकमा अमृत बीसी, प्रतिनिधि ब्यबस्थापन संयोजकमा घनश्याम पाण्डे र प्रचारप्रसार संयोजकमा गंगाराम तिमील्सेना रहनुभएकाे छ । यसैगरी स्वयंसेवक संयोजकमा चतुर्भुज शाही, भाेजन ब्यबस्थापन संयोजकमा पुर्ण प्रसाद पाैडेल, मञ्च ब्यबस्थापन संयोजकमा हरिहरनाथ याेगी र अतिथि सत्कार संयोजकमा सुशीला बिक रहनु भएकाे प्रचारप्रसार संयोजकमा गंगाराम तिमील्सेनाले जानकारी दिनुभयाे ।
बैठकले पार्टी जिल्ला कमिटी सदस्यहरु डम्मर तिवारी, ऋषि गिरी, हरिहरनाथ योगी, खड्क भट्टराई, पुर्ण पौडेल, यज्ञ ढकाल, टिकाराम सोमै, सुशीला बिक, बलबहादुर नेपाली, तुलबहादुर सहकारी, गंगाराम तिमिल्सिना र जितबहादुर सिंहलाई जिल्ला कमिटीको सचिवालयमा थप गरेको छ।
नेकपा एमाले सुर्खेतका अध्यक्ष ध्रुबकुमार शाहीकाे अध्यक्षतामा सम्पन्न भएकाे बैठकमा नेकपा एमाले केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला ईन्चार्ज नवराज रावत, केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला सहईन्चार्ज माेहनमाया ढकाल र कर्णाली प्रदेश कमिटीका सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे ।