ट्रेण्डिङ

होमपेज / राजनीति

प्रदेश अधिवेशनको तयारीमा एमाले

महाधिवेशनपछि पार्टी एक ढिक्का

नेपालगाथा २०७८ पौष ५ गते सोमबार १६:४८:१० मा प्रकाशित

सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीले प्रथम प्रदेश अधिवेशनको तयारी शुरु गरेको छ । प्रदेश कमिटीले आगामी माघ ८ गते वीरेन्द्रनगरमा सम्पन्न हुने अधिवेशनका लागि मूल व्यवस्थापन समिति गठन गर्नुका साथै प्रतिनिधि संख्याको टुङ्गो लगाएको हो । 
प्रदेश कमिटीको आइतबार सम्पन्न बैठकका निर्णय सार्वजनिक गर्दै एमालेले प्रदेशसभा निर्वाचन क्षेत्रलाई भौगोलिक आधार बनाएर १५० संगठित सदस्य बराबर एक प्रतिनिधि छनौट गर्ने जनाएको छ । प्रतिनिधि छनौट गर्दा एक तिहाई महिला प्रतिनिधित्व अनिवार्य हुनुपर्ने, दलित प्रतिनिधिको हकमा १०० सदस्य बराबर एक प्रतिनिधि हुनुपर्ने मापदण्ड तोकिएको छ । कर्णालीमा एमालेका ६२ हजार १४२ संगठित सदस्य छन् । प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले यही पुस २९ गते सम्बन्धित निर्वाचन क्षेत्रमा प्रदेश प्रतिनिधि छनौट गरिने जानकारी दिनुभयो । 


बैठकले प्रदेश अध्यक्ष शाहको अध्यक्षतामा मूल व्यवस्थापन समिति गठन गरेको छ । मूल व्यवस्थापन समितिमा लालबहादुर महतारा, कमल शाही, टेकराज पछाई, रुपा शाही, १० वटै जिल्लाका अध्यक्षहरु र प्रदेश कमिटीका सदस्यहरु छन् । प्रदेश कमिटीले पुस २३ गते जिल्ला अधिवेशनको सम्पन्न गर्न निर्देशन दिएको छ । त्यस्तै, बैठकले पार्टी प्रदेशसभा संसदीय दलको विधान–२०७७लाई अनुमोदन गरेको छ । बैठकले हुम्लाको सर्केगाडमा अन्तरजातीय विवाहको विषयलाई लिएर भएको अमानवीय र गैरकानूनी कार्यप्रति निन्दा व्यक्त गर्दै बेपत्ताको खोजी गरी दोषीलाई कारबाही गर्न सरकार तथा सरोकारवाला निकायसमक्ष माग गरेको छ । 
पत्रकार सम्मेलनमा एमाले कर्णाली प्रदेश इञ्चार्ज यामलाल कंडेलले १०औं राष्ट्रिय महाधिवेशनपछि पार्टीमा कुनै प्रकारको गुटउपगुट र पूर्व समूह नरहेको बताउनुभयो । “पार्टीमा योग्यता र क्षमताका आधारमा सबैलाई उपर्युक्त जिम्मेवारी दिइएको छ, जिल्ला र प्रदेश अधिवेशनमा पनि पूर्व समूहका आधारमा कसैलाई विभेद गरिँदैन,” उहाँले भन्नुभयो, “पार्टी केन्द्रले गरेको कार्यविभाजनलाई लिएर पार्टीपंक्ति भन्दा बाहिर अनावश्यक टिकाटिप्पणी भएको छ, पार्टीमा आफूले पाएको जिम्मेवारीबारे सबै सन्तुष्ट हुनुहुन्छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

Top