होमपेज / राजनीति
हेटौंडा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत बनाउनुपर्ने माग गर्दै हेटौंडामा नाराबाजी भएको छ। नेकपा एमालेको दशौँ महाधिवेशनको पूर्वसन्ध्यामा हेटौंडामा ‘आज होइन भोलिलाई, १० वर्ष ओलीलाई’ भन्दै नेता कार्यकर्ताले नाराबाजी गरेका हुन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत रूपमा पुनः अध्यक्ष बनाइने भन्दै प्रस्ताव गरिएका वेला यस्ता माग गरिएका हुन्।
पार्टीको महाधिवेशन सफल बनाउन नेकपा एमाले मकवानपुरले प्रचारप्रसारका लागि गरेको मोटरसाइकल र्यालीमा अध्यक्ष ओलीको समर्थनमा उक्त नाराबाजी भएको हो। र्यालीपश्चात् आयोजना गरिएको कोणसभामा पनि वक्ताले अझै १० वर्ष ओलीलाई पार्टीको नेतृत्व दिनुपर्ने माग गरेका थिए। हेटौंडा–५ स्थित पार्टी कार्यालयबाट निस्केको र्याली हेटौंडा बजारका विभिन्न स्थान परिक्रमा गर्दै सीमाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।
उनीहरूका नारामा जिल्ला अध्यक्ष र सचिवले पनि समर्थन जनाएका थिए। र्यालीमा सहभागी एमाले मकवानपुरका अध्यक्ष बद्री लम्साल, सचिव एकलाल श्रेष्ठ लगायतको नेताहरूले अध्यक्ष ओलीको समर्थनमा नाराबाजी गरेका थिए।