होमपेज / राजनीति
काठमाडौं । नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दैछन् । लु हिजो साँझ काठमाडौँ उत्रेका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा हुने द्विपक्षीय भेटवार्तामा कोभिड-१९ महामारी, जलवायु संकट र लोकतन्त्रको सबलीकरणबारे छलफल हुने अमेरिकी दूतावासले जनाएको छ ।
अमेरिकी दूतावास स्रोतका अनुसार देउवा र लूबीच अमेरिकी अनुदान सम्झौता (एमसीसी) बारे पनि कुराकानी हुने भएको छ । दुबै पक्षले एमसीसीबारे खुलेर केही नबताएपनि सहायक विदेशमन्त्री लूले देउवासँग एमसीसीको अनुमोदनबारे चासो राख्नेछन् ।
अमेरिकी सहायक र उपसहायक विदेशमन्त्रीको यो भ्रमण नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धको ७५ औँ वर्ष प्रवेश हुन लागेको सन्दर्भमा भएको हो । ‘कोभिड–१९, जलवायु परिवर्तन र लोकतन्त्रलाई सुदृढ गर्ने अमेरिकी राष्ट्रपति बाइडेनका उच्च प्राथमिकताका विषयलाई उहाँहरूले सम्बोधन गर्नुहुनेछ', विज्ञप्तिमा भनिएको छ ।