होमपेज / राजनीति
कञ्चनपुर । नेकपा एमाले कञ्चनपुरका ३ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयनका लागि शनिवार सहमति जुट्न सकेन । आपसी सहमति नजुट्दा १ नम्बर निर्वाचन क्षेत्रमा मतदान नै हुने भएको छ । बेलडाँडी, बेलौरी, पुनर्वास र लालझाडी समेटिएको १ नम्बर क्षेत्रमा भोलि आईतबार मतदान हुने भएको एमाले कञ्चनपुरका उपसचिव पल्लवराज भट्टले जानकारी दिए । उनका अनुसार चारै स्थानीय तहमा मतदान केन्द्र तोकिएको छ ।
चुनावबाट ४ खुला र १ महिला गरी ५ महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् । खुलातर्फ ४ जनाका लागि ९ जनाबीच टक्कर हुने भएको छ । चुनावी प्रतिस्पर्धामा वीरबहादुर थापा ‘पातल’, पल्लवराज भट्ट, रोशन खड्का, हिरासिंह विष्ट, खेम सुवेदी, करम राना, रामचन्द्र नेपाल, भक्तबहादुर अधिकारी र खेमराज ओझा रहेका छन् । निर्वाचित हुने १ महिला प्रतिनिधिका लागि कमला बोहरा, इन्दु कडरिया, चित्रादेवी चौधरी, कमला कार्की र सुशीला खत्रीबीच प्रतिस्पर्धा हुने भएको छ ।
कञ्चनपुरको २ नम्बर निर्वाचन क्षेत्रमा सहमतिको प्रयास गर्न आईतबार दिउँसो १२ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ । ४ खुला र १ महिला प्रतिनिधिका लागि २ नम्बर क्षेत्रमा पनि नेताहरूबीच कडा टक्कर देखिएको छ । खुलातर्फ अशोककुमार चन्द, रणबहादुर महरा, कृपाराम राना, रामसिंह धामी, लोकेन्द्र बिष्ट, जयराज पाण्डेय, हिक्मतबहादुर सिंह, नरबहादुर धामी, टेकबहादुर हमाल, विष्णुदत्त जोशी, वचनबहादुर सिंह, मोहनसिंह रावल र रमेशदत्त भट्ट मैदानमा उत्रिएका छन्, यीमध्ये ४ जना मात्रै निर्वाचित हुनेछन् ।
कूल १ जना निर्वाचित हुने महिलातर्फ लक्ष्मी बुढा र पार्वती जोशीको उम्मेदवारी कायम रहेको छ । अन्य उम्मेदवारहरू ईश्वरादेवी कुँवर, ईश्वरी शर्मा, भानमती खडायत र सुशीला सिंहले उम्मेदवारी फिर्ता लिइसकेका छन् । बाँकी २ उम्मेदवारमध्ये पार्वती जोशीको उम्मेदवारी फिर्ता गराएर लक्ष्मी बुढालाई सर्वसम्मत गराउने प्रयास भइरहेको स्रोतले जनाएको छ । कञ्चनपुरको ३ नम्बर क्षेत्रका सबै उम्मेदवारले प्रतिनिधि चयनको अन्तिम निर्णय गर्ने अधिकार जिल्ला इन्चार्ज निरुदेवी पाल र अध्यक्ष वीरबहादुर थापालाई दिएका छन् । दुवै नेतृत्वको निर्णय मान्य हुनेमा सबै उम्मेदवार सहमत भएपछि ३ नम्बर क्षेत्रमा निर्वाचन नहुने भएको छ ।
३ नम्बर क्षेत्रमा महाधिवेशन प्रतिनिधिका लागि गगन खत्री, चन्द्रसिंह धामी, हरि धनाडी, जनक अवस्थी, कृष्णदेव पन्त, हरिप्रसाद जोशी, डा. दिपकप्रकाश भट्ट, सुरेन्द्र विष्ट, महेश पन्त र विष्णु अवस्थीले उम्मेदवारी दिएका छन्, यीमध्ये खुलातर्फ ३ प्रतिनिधि चयन हुने जनाइएको छ । १ जना निर्वाचित हुने महिलातर्फ चिनी गिरि र खिमा चन्दले उम्मेदवारी दिएका छन् ।