होमपेज / राजनीति
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको राजीनामासँगै अब एमाले संघीय र प्रदेश सबैतिर प्रतिपक्षी कित्तामा पुगेको छ ।
केन्द्रमा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए। प्रदेश-१, बागमती, गण्डकी, लुम्बिनीमा एमालेका नेताहरू मुख्यमन्त्री थिए।सोमबार आचार्यको राजीनामासँगै एमाले संघ र प्रदेश सबैतिर विपक्षमा पुगेको हो ।
गत भदौ १० मा मुख्यमन्त्री बनेका आचार्यको सरकारले ६८ दिनमै सोमबार ढलेको छ । बहुमत नपुग्ने अवस्था सिर्जना भएपछि मुख्यमन्त्री आचार्यले विश्वास प्रस्तावमा मतदान प्रक्रिया सुरु हुनुअघि राजीनामा दिएका छन् ।नेकपा विभाजनको कारण यसअघि एमालेले संघीय सरकार, गण्डकी र लुम्बिनीको प्रदेश सरकार गुमाएको थियो ।
जेठ २७ गते गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले विश्वासको मत लिए। उनले बहुमत नपाएपछि एमालेको सत्ता बहिर्गमन त्यही दिनबाट सुरू भयो।गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलाले आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला नेकपा विभाजन गर्न वैधानिक बाटो खोलिदिएको थियो ।
गत बुधबार मात्रै एमालेले वाग्मती प्रदेश सरकार गुमाएको थियो । वाग्मती प्रदेशमा भदौ २ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र प्रदेश १ मा भदौ १० गते आचार्यलाई एमालेले मुख्यमन्त्री बनाएको थियो । त्यसैगरी गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनी प्रदेशमा शंकर पोखरेल एमालेबाट मुख्यमन्त्री बनेका थिए ।
उता लुम्बिनीमा पनि आफ्नो सत्ता जोगाउन मुख्यमन्त्री शंकर पोखरेलले तिकडम गरेका थिए। माओवादी केन्द्रले साथ छोडेपछि उनले राजीनामा दिए र एकल बहुमत रहेको प्रदेश प्रमुखसमक्ष दाबी गरे। विपक्षी सांसदहरूले उनको पक्षमा बहुमत छैन भन्दै उनलाई सपथ नखुवाउन तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादवको निवासमा धर्ना दिए।
जति गर्दा पनि संसदबाट विश्वासको मत पाउन नसक्ने भएपछि पोखरेलले साउन २७ गते राजीनामा दिए।