होमपेज / राजनीति
काठमाडौं । पूर्वसभामुख वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाले संविधानले परिकल्पना गरेका संस्थाहरु बिटुलिन थालेकाले शुद्धीकरण अभियान शुरु गरेको बताएका छन् ।
आइतबार नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै शुरु गरेको धर्नामा सहभागी भएका उनले अहिले न्यायपालिका खतरामा रहेको अनुभव भएको बताए ।
‘हामी कानुन व्यवसायीहरू जहिल्यै पनि प्रजातान्त्रिकरणको लडाइँमा अग्रपंक्तिमा छौँ । यो एउटा शुद्धीकरणको अभियान हो । न्यायालयमात्रै होइन, संविधानले निर्माण गरेका सबै संस्थाहरू बिटुलिन थालेका छन्, अशुद्ध हुन थालेका छन् । त्यो शुद्धीकरणको अभियान न्यायालयबाट थालेका छौँ ।
त्यसकारणले म आग्रह गर्न चाहन्छु कि किन वकिलहरूले विरोध गर्नुपर्यो ? कसका लागि विरोध गर्नुपर्यो ? केका लागि विरोध गर्नुपर्यो ? यो कुरा तपाईंहरूले बुझिदिनुपर्दछ । हामी संविधान रक्षाका लागि लडिरहेका छौँ ।हामी प्रजातन्त्रका खम्बाहरूको रक्षाका लागि लडिरहेका छौँ । तर, जसरी यी संस्थाहरू चलाइएका छन् । त्यसरी शुद्ध गर्न हामी शुद्धीकरणको अभियानमा छौँ ।
यो विरोधले शुद्धीकरण गर्छ । शुद्धीकरणको अभियान हामी निरन्तर गर्छौ । संविधान जस्तो छ, त्यसमा परिस्कार गरिकन हामी यसलाई शुद्धीकरण गर्न चाहन्छौँ । यसको नेतृत्व बारले लिन्छ’ ।