होमपेज / राजनीति
काठमाडौं । सडकबाट प्रधानन्यायाधीशलाई हटाउने मिसनलाई साथ दिँदै गुटबन्दीमा जुटेका सर्वोच्च अदालतका न्यायाधीशहरूले शुक्रबार पनि इजलास बहिष्कार गरेका छन् ।
न्यायाधीशहरुले इजलासमा सहभागी नहुँदा बन्दी प्रत्यक्षीकरणसहित तत्काल सुनुवाई प्रभावित हुँदा न्यायको हक उल्लंघन भएको भन्दै पेशी सूचीमा रहेका मुद्दा हेर्न परमादेश जारीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
प्रधानन्यायाधीशले केही व्यक्तिले सडकबाट राजीनामा माग्दैमा नदिने र महाअभियोग आए फेस गर्ने बताएका छन् । न्यायाधीशहरूले इजलास बहिष्कार गर्दा वकिलहरू समेत विभाजित भएर कुटाकुटमा उत्रिएका छन् ।रिटमा पेसी सूचीका कुनै पनि मुद्दा नरोक्न र इजलासमा बसी स्वच्छ सुनुवाइ गर्नका लागि विपक्षी न्यायाधीशहरूका नाममा परमादेश माग गरिएको छ ।
कृष्ण प्रसाईंसहितका अधिवक्ताहरुले १५ न्यायाधीशविरुद्ध दर्ता गरेको रिटमा शुक्रबारबाटै मुद्दा स्वच्छ सुनुवाइका लागि परमादेश जारी गर्न माग गरिएकाे हाे।'सर्वसाधारणको बन्दी प्रत्यक्षीकरण लगायतका मुद्दामा तत्काल सुनुवाई हुन पर्ने संविधानको धारा २० समेत बमोजिमको न्याय सम्बन्धी हक उल्लंघन हुन गएको कारण यसबीचमा केही माननीय न्यायाधीशहरु बिदामा बस्नु भएको भन्ने जानकारी आएकाको' भन्दै सो रिटमा भनिएको छ 'विपक्षी माननीय न्यायाधीशज्यूहरुका नाममा आजैको मितिदेखि संविधानको धारा १३३ (२), (३) बमोजिम पेशी सूचीका कुनै पनि मुद्दा नरोक्नु, इजलासमा बसी स्वच्छ सुनुवाइ गर्नु भन्ने व्यहोराको परमादेश जारी गरिपाउँ ।'