होमपेज / राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशमा फेरि एकपटक माओवादी आतंक देखिएको बताएका छन्। दाहालले आउँदो चुनाव पनि चितवनबाटै लड्ने भनाइ दोहोर्याएका छन् ।
शुक्रबार बिहान भरतपुरमा आयोजित चाडपर्वहरुको शुभकामाना आदानप्रदान र कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै दाहालले भने, ‘चुनाव आउँदैछ र यो चुनाव आउँछ जान्छ भन्ने मात्रै ठानिएको छ भने त्यो सही हैन । यहाँ ठूलो लडाइँ हुँदैछ । महाभारत हुँदैछ ।’देशका केही मान्छेले माओवादी सखाप नपारेसम्म यो देशमा केही पनि हुँदैन भन्न थालेको हुँदा सजग सचेत रहन उनले कार्यकर्तालाई अपिल गरे । ‘माओवादी सखाप पार्ने भनेको के हो ? त्यो भनेको संघीय लोकतान्त्रिक गणतन्त्र सखाप पार्ने हो । उत्पीडितले पाएको सीमित अधिकार खोस्ने र उनीहरुको तन्त्र लाद्ने हो । यो महाभारत यो कुरुक्षेत्र हुन लागेको चितवनमा कल्ले जित्ने हो ? कौरवले कि पाण्डवले हेर्नु छ,’ दाहालले भने ।
‘केपी शर्मा ओलीको प्रवृत्तिविरूद्ध एउटै पार्टीभित्र बसेर धेरै लडियो, उनको स्वेच्छाचारी प्रवृत्तिका विरूद्ध पार्टीमा धेरै आलोचना भए तर ओली प्रवृत्ति कायमै रह्यो,’ उनले भने, ‘बाध्य भएर त्यसकाविरूद्ध लडाइँ लड्नुपर्ने भयो। उनलाई बिदा गरेरै छाडियो।’
प्रचण्डले जिन्दगीभर प्रधानमन्त्री बन्ने सपना बोकेर बालुवाटारमा भव्य दरबार बनाउँदै गरेका ओलीसामु माओवादीले ठूलो आतंक सृजना गरेको दाबी गरे।