होमपेज / राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा ग्लासगोमा आउँदो नोभेम्बर १–२ मा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप २६) पक्षहरूको २६औँ सम्मेलनको विश्व नेताहरूको शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बेलायत प्रस्थान गर्ने भएका छन् ।
सरकारले सम्मेलनलाई महत्त्वका साथ आत्मासाथ गर्दै सम्मेलनको पूर्वसन्ध्यामा बिहीबार मन्त्रिपरिषद् बैठकबाट ‘नेपालको राष्ट्रिय अनुकूलन योजना (२०२१-२०५०)’, ‘खुद शून्य उत्सर्जनमा नेपालको दीर्घकालीन रणनीति’ र ‘जलवायुजन्य हानिनोक्सानीसम्बन्धी राष्ट्रिय कार्यढाँचा’ जस्ता महत्त्वपूर्ण नीतिगत दस्तावेज र कार्ययोजना पारित गरेको छ ।
प्रधानमन्त्री देउवा नोभेम्बर १ (कात्तिक १५) मा कोप २६ को उद्घाटनमा सहभागी हुनेछन् र विश्वका नेताहरूको सम्मेलनमा सम्बोधन गर्नेछन् । साथै, प्रधानमन्त्री देउवाले राष्ट्र प्रमुखहरू र सरकार प्रमुखहरूसँग द्विपक्षीय साइडलाइन वार्ताहरू गर्नेछन् ।
विश्व समुदायकै चासो र चिन्ता रहेको यो विषयमा छलफल गरी विश्व सहकार्यको प्रारूप थप स्पष्ट गर्न जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिका पक्ष राष्ट्रहरूको २६औँ सम्मेलन (कोप-२६) स्कटल्याण्डको ग्लास्गो शहरमा यही कात्तिक १४ गतेदेखि कात्तिक २६ गतेसम्म आयोजना हुँदैछ ।