होमपेज / राजनीति
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा आज टेबुल हुँदैछ । प्रस्ताव उपर छलफल र मुख्यमन्त्रीले जवाफ दिने कार्यक्रम तय छ । तर, मत विभाजनको विषयमा भने सरकारले अलमल देखाएको छ ।
२५ असोजमा प्रदेशसभा सचिवालयमा दर्ता भएको प्रस्ताव शुक्रबार बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकपछि प्रदेशसभामा टेबुल हुने प्रदेशसभा सचिव गोपाल पराजुलीले जानकारी दिए ।
बिहीबार बसेको बाग्मती प्रदेशको बैठकले विश्वासको मतसम्बन्धी छलफल भए पनि मतदान गर्ने मिति एक साताका लागि सरेको थियो । प्रदेश १ मा शुक्रबार प्रस्ताव टेवल गर्ने र छलफलपछि मतदानको मिति केही दिन पर सार्ने तयारी भएको हो । संसद सचिवालय स्रोतका अनुसार आइतबार मतदान हुनसक्छ ।
सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । तर, दल विभाजनको सूचना प्रदेशसभामा ढिलो गरी आएको र निर्वाचन आयोगले तोकेको अवधिलाई प्रदेशसभाले वैधानिक रुपमा नचिनेको जनाउँदै आचार्यले आफ्नो पदावधि रहेको दाबी गर्दै आएका छन् ।