होमपेज / राजनीति
चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल विस्तारमा न्यायलयलाई भागबण्डा गरियो भन्नु गलत भएको दाबी गरेका छन् ।
प्रचण्डले गजेन्द्र हमाल प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको सिफारिसमा नभई कांग्रेसबाट मन्त्री बनेको बताएका छन् ।अध्यक्ष दाहालले यो विषयमा होहल्ला गर्नु आवश्यक नरहेको स्पष्ट पारे । उनले भने, “कांग्रेसको आफ्नै मान्छे हो, आफ्नै कोटामा ल्याइसकेपछि यता हो र त्यता हो भन्नुको कुनै तुक छैन ।”
प्रचण्डले प्रधानन्यायाधीश राणाको नाम मन्त्रिपरिषद् विस्तारमा मुछ्न नमिल्ने पनि बताए । ‘कांग्रेसको बाँके सभापति भइरहेको मान्छे प्रधानन्यायाधीशको सिफारिसमा मन्त्री बन्नु पर्दैन । देउवाजीले पार्टीको पुरानो मान्छेलाई मन्त्री बनाउनु भएको हो । अनावश्यक नाम जोडर होहल्ला गर्नु आवश्यक छैन,’ उनले भने ।