होमपेज / राजनीति
काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अख्तियार दुरुपयोग अनुसन्धानप्रति आक्रोश व्यक्त गरेका छन् ।
बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियारबिना अनुमति छिरेर छापा मारेर सरकारलाई बदनाम गराउने प्रयास भएको आरोप लगाएका हुन् ।
मुख्यमन्त्री कार्यालयले ‘बेटी बचाऊ बेटी पढाउ’ कार्यक्रम अन्तर्गत गत वर्ष प्रदेशभरका ८ कक्षाका छात्रालाई साइकल वितरण गरेको थियो । कार्यक्रममा व्यापक अनियमितता भएको उजुरी परेपछि अख्तियारले केही दिनअघि मुख्यमन्त्री कार्यालयमा छापा मारेर कागजात लिएर फर्किएको थियो ।‘मलाई जानकारी गराएको भए म जे माग्नुहुन्छ त्यो दिन तयार थिएँ । प्रमुख सचिवलाई पनि जानकारी गराइएको छैन । प्रदेश सरकारलाई बदनाम गराउन षडयन्त्रपूर्वक हामीमाथि अट्याक गरिएको छ,’ उनले भने ।
आफूले अख्तियारका प्रमुखसँग पनि आफूले कुरा गरेको उनले बताए ।उनले थपे, ‘मुख्यमन्त्री कार्यालय भनेको संस्था हो । प्रदेशको सिंहदरबार हो । प्रधानमन्त्री कार्यालय हो । सीमित बजेट र कर्मचारी भए पनि प्रदेशको आफ्नो गरिमा हुन्छ ।’