होमपेज / राजनीति
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो। असोज १५ गते शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको सरकारकी प्रवक्तासमेत रहेकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले जानकारी दिइन्। सत्ता गठबन्धनसँग सुदूरपश्चिममा प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस असन्तुष्ट बनेका बेला प्रदेश सरकारले हतारहतारमा अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो।
कांग्रेसले यसअघिका प्रदेशसभा बैठक बहिष्कार गरेको थियो। तर, मन्त्री जोशीले भने प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने समय भइसकेकोले उक्त सिफारिस गरिएको बताइन्। सरकारसँग बिजनेस नभएकाले उक्त निर्णय लिनुपरेको उनले बताइन्। त्यसमा कांग्रेसको असन्तुष्टिको कारण नभएको उनले दाबी गरिन्। यस्तै बिहीबारको मन्त्रिपरिषद् बैठकले सेती प्रादेशिक अस्पतालको डिपीआर निर्माणका लागि एक करोड बजेट पनि स्वीकृत गरेको छ। यसैगरी प्रदेश लोकसेवा आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन प्रदेशसभामा पेस गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री जोशीले बताइन्।
बैठकले प्रदेश उच्च शिक्षाको सम्भाव्यता अध्ययन कार्यदल गठनसम्बन्धी प्रस्ताव स्वीकृत र प्रदेश लेखा इकाई कार्यालय स्थापनाका लागि संरचना र दरबन्दी तेरिज स्वीकृत समेत गरेको उनले जानकारी दिइन्।