होमपेज / राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा अवरोध गरिरहेको आरोप लगाएका छन् ।
अघिल्लो सरकारले अगाडि बढाएको दोस्रो चरणको निर्माण कार्य नयाँ सरकारले ‘होल्ड’ गरेको भन्दै पौडेलले आक्रोश व्यक्त गरे । शनिबार रुपन्देहीको भैरहवामा निर्मित उद्योग व्यापार संगठनको कार्यालय भवनको उद्घाटन गर्दै उनले सो विमानस्थलको कामलाई अघि बढाउनका लागि एसियाली विकास बैंक (एडीबी)सँग शीघ्र सम्झौता गरेर बजेटको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई ढिलाइ नगर्न सचेत गराए ।
‘हामीले सेकेन्ड फेजका काम अगाडि बढाएका थियौं । जसअन्तर्गत आउँदो ५० वर्षलाई धान्ने अत्याधुनिक टर्मिनल बिल्डिङ (टिटु) बनाउने, टयाक्सी वे र फराकिलो पार्किङलगायतका आधुनिक पूर्वाधार तयारी गर्ने कार्य अगाडि बढाउन एडीबीले ७ अर्ब लगानी गर्ने र नेपाल सरकारले ७ अर्ब गरी १४ अर्ब लगानीमा सेकेन्ड फेजको काम अगाडि बढाउने मोडालिटी तयार भएको थियो’, पौडेलले भने, ‘एडीबी ऋण सम्झौता गर्न तयार अवस्थामा छ तर सरकारले काम अगाडि बढाएन ।’