होमपेज / राजनीति
५ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमानको नियुक्तिविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई प्रतिवादी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
'शाक्यलाई नेपाल सरकार मन्त्रिपरिषदको साउन २५ गतेको निर्णयबाट नेपाल विद्युत प्राधिकरणको उप-कार्यकारी पदमा पदाधिकार राखी जल तथा ऊर्जा आयोगको सचिवालयको रिक्त विशेषज्ञ सदस्य पदमा नियुक्ति गरेको देखियो। हालको अवस्थाबाट निवेदकलाई पदबाट हटाइएको भन्ने नदेखिएकाले माग बमोजिम अन्तरिम आदेश जारी गर्नु परेन,' उक्त इजलासको आदेशमा उल्लेख छ।