होमपेज / राजनीति
काठमाडौं । एमसीसी र भारतसँगको सम्बन्धका विषयमा नकारात्मक टिप्पणी भएको भन्दै मित्रराष्ट्रविरुद्ध गतिविधि गर्नेमाथि कारवाहीको चेतावनी दिने गृहमन्त्रालयको विज्ञप्तिका आधारमा कसैमाथि कारवाही नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
विदेशी सहयोगमा सञ्चालित विकाससम्बन्धी आयोजनाबारे नकारात्मक टिप्पणी नगर्न भनी गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिविरुद्ध परेको रिटमा सोमबार न्यायाधीश मीरा खड्का र तेजबहादुर केसीको संयुक्त इजलासले नकारात्मक र समीक्षात्मक टिप्पणी गरेकै आधारमा पक्राउ नगर्न भनेको हो ।
१८ भदौमा विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले एमसीसी र मित्र राष्ट्रको सम्बन्धविरुद्ध गतिविधि गर्नेहरूलाई कारबाहीको चेतावनी दिएको थियो ।संविधानको धारा १७ ले प्रत्येक नेपाली नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता प्रदान गरेकाले एमसीसी र मित्र राष्ट्रबारे टिप्पणी गर्नेलाई कारबाही गर्न नमिल्ने सर्वोच्चको आदेशमा भनिएको छ ।
"नेपालको संविधानको धारा १७ ले प्रत्येक नेपाली नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता प्रदान गरेको र त्यस अन्तर्गत सकारात्मक, नकारात्मक र समीक्षात्मक टिप्पणी पर्ने हुँदा नकारात्मक टिप्पणी गरेको वा अभिव्यक्ति दिएको कारणले मात्र मिति २०७८ । ०५ । १८ को विज्ञप्तिको आधारमा कसैलाई कारबाही नगर्नू नगराउनू भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ को उपनियम (२) अनुसार प्रत्यर्थीहरुको नाउँमा अन्तरिम आदेश जारी गरी दिएको छ," आदेशमा भनिएको छ ।