होमपेज / राजनीति
काठमाडौं । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य सुवास नेम्वाङले सातौँ संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट प्रदान गरिएको विभूषण/पदकमाथि टिप्पणी गरेका छन् ।
नेम्वाङले ओलीको सरकारविरुद्ध मुद्दा हाल्ने र फैसला सुनाउने न्यायाधीशलाई मानपदवी दिइएको भन्दै असन्तुष्टि जनाएको छ । यसले राम्रो सन्देश नगएको भन्दै एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले मेडल अस्वीकार गर्न न्यायाधीशहरुलाई आग्रह गरे ।
उनले पदकका विषयमा आफूलाई आश्चर्य लागेको पनि सुनाए ।“दुःख गरेर संविधान बनायौँ । संविधान कार्यान्वयनको चरणमा छौँ । कुनै भेदभावबिना अघि बढ्छ भनेर विश्वस्त तुल्याउने र थप विश्वस्त हुने दिन पुस्कारको घोषणा सुनेँ । मलाई आश्चर्य लागेको छ,” उनले भने ।
संविधान दिवसको अवसरमा सरकारले ९०३ जनालाई विभिन्न विभूषण, अलंकार पदक प्रदान गरेको छ, जसमा ५ पुस २०७७ को प्रतिनिधिसभा संसद विघटन बदर गर्ने संवैधानिक इजलासमा रहेका पाँच जना न्यायाधीश परेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाउज्ज्वल राष्ट्रद्वीप, न्यायाधीश विश्वम्भर श्रेष्ठलाई उज्ज्वल कीर्तिमय राष्ट्रद्वीप र न्यायाधीशत्रय अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीलाई प्रसिद्ध प्रबल जनसेवाश्री पदक दिइएको छ ।जननिर्वाचित केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापितको घोषणा गर्ने अदालतका न्यायाधीश र मुद्दा दर्ता गर्ने पक्षले मेडल पाएको बेठिक भएको उनको भनाइ छ ।
“यहाँहरूले तुरुन्तै दिएको मेडललाई अस्वीकार गर्छौँ भनेर अस्वीकार गरेको घोषणा गरिदिनुस्,” उनले भने ।