होमपेज / राजनीति
काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावपछि सत्ता गठबन्धन आबद्ध दलहरुको अस्तित्व नै संकटमा पर्ने बताएका छन् । उनले सत्ता गठबन्धनप्रति कटाक्ष गर्दै चुनावपछि आइसका डल्ला बिलाएर जाने बताए ।
‘यी फ्रिजबाट निकालिएका आइसका डल्ला हुन्, आफैं बनेका होइनन्,’ शनिबार नेपाल निजामति कार्मचारी संगठनको कार्यक्रममा ओलीले भने, ‘डल्ला बाहिर राख्नेबित्तिकै बिलाएर जान्छन् ।’
ओलीले १४ महिनापछि हुने चुनावबाट आफ्नो नेतृत्वमा सरकार बन्ने दावी गर्दै ती सबै बिलाएर जाने बताए। उनले भने, ‘तपाईंहरुलाई केही दुःख दिन सक्छन् । धेरै चिन्ता गर्नु पर्दैन, १४ महिनापछि चुनाव हुन्छ, त्यसको अर्को एक महिनापछि हाम्रो सरकार बन्छ । यिनीहरु बिलाएर जान्छन्।’
आफू प्रधानमन्त्री हुँदा घोषणा गरिएको चुनावको विरोध गरेका वर्तमान सत्ता गठबन्धनले टार्न खोजिए पनि चुनाव नगरी धर नभएको उनले बताए । '१४ महिनापछि त चुनाव गर्नु पर्छ । चुनाव गराउँदा अनिवार्य रुपमा देश प्रतिगमनमा जाने भयो त ? जनादेश आउँदा चुनाव प्रतिगमन हुने भयो ? संविधान मिचिने भयो त ? कस्तो शासन खोजेका छन् यी तानाशाहहरुले ? चुनाव टाल्ने काम । कुनै पनि हिसाबले चुनाव नगराएर धर छैन । चुनाव गर्न तिनीहरु बाध्य छन्,' ओलीको भनाइ थियो ।