ट्रेण्डिङ

होमपेज / राजनीति

युवराज ज्ञवालीले माधव नेपाललाई भने, 'एमालेको मत खोसेर जित्छौँ भन्ने नसोच्नुस् ।’

एमाले फुटाउन सभामुख अग्निप्रसाद सापकोटाले भूमिका खेलेको आरोप

नेपालगाथा २०७८ भाद्र १५ गते मंगलबार ११:२६:४२ मा प्रकाशित

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष एवम् कर्णाली प्रदेश संयोजक युवराज ज्ञवालीले माधव नेपाललाई एमालेको मत खोसेर जित्छौँ भन्ने साेच नराख्न आग्रह गरेका छन् । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले भने, ‘एउटै नीति, एउटै विचारधारा भएको पार्टी विभाजन गरेर यसको औचित्य पुष्टि गर्नसक्नुहुन्न ।’ माधव नेपालले नयाँ दल दर्ता गरेर ठूलो गल्ती गर्नुभएको बताउँदै नेता ज्ञवालीले भन्नुभयाे, 'कुनै दिन विचार गर्नुहोला कमरेड माधव, पार्टी विभाजन किन र के का लागि भनेस कसरी जष्टिफाइ गर्नुहुन्छ ?'

विभाजनमा नजाने केन्द्रीय कमिटीको निर्णयविपरीत नेता नेपाल लागेको ज्ञवालीले बताए । ‘बैठक नबसी उहाँ दल दर्ता गराउन जाँदा खेरी उहाँले छोडेको भयो कि हामीले छोडेको भयो ? तथ्यले के भन्छ ? मलाई छोडेर जानुभयो भनेर हामीलाई आरोप लगाउनु भएको छ, बैठकमा छलफल नै नगरिकन दल दर्ता गर्न जाने ?’, उनको प्रश्न थियो । माधव नेपाल सहितको एमाले एकता गर्ने प्रयास गरे पनि नेपालले ओलीसँग मिलेर बस्न नचाहेको ज्ञवालीको टिप्पणी थियो । 

‘एमालेलाई मात्र, केपी ओलीलाई मात्र दोष दिएर तपाईहरुले छुट पाउनुहुन्न,’ उनले भने, ‘काम गर्दा कमजोरी हुन सक्छ, खराब हुन सक्छ, तर त्यसको अर्थ पार्टी नै काम लाग्दैन भन्ने अर्थ निकाल्नु र त्यो अर्थमा पार्टी नै विभाजन गर्नु धेरै दुर्भाग्यपूर्ण काम हो, यो गलत बाटो हो ।’ सबै राजनीतिक दल मिलेर यो संविधान बनाएको चर्चा गर्दै उनले संविधान जोगाउनु, लोकतन्त्र जोगाउनु सबैको दायित्व भएको बताए । उनले नेपाली जनताको बीचमा घृणा फैलाउने, द्वन्द्व बढाउने काम नगर्न पनि कार्यकर्तालाई निर्देशन दिए ।

एमाले फुटाउनमा सभामुख अग्निप्रसाद सापकोटाले भूमिका खेलेको आरोप लगाउँदै उनले त्यसको सधैँ प्रतिरोध गर्ने बताए । ‘सभामुख पदमा जो व्यक्ति बसे पनि उहाँले निष्पक्षतामा काम गर्नुपर्छ । पार्टीले हाम्रा कार्यकर्ताहरुलाई कारवाही गर्न संस्थागत निर्णय गरेर निवेदन दिइसकेपछि त्यसलाई लामो समयसम्म राख्नुले पुष्टी गर्छ कि सभामुखले एमाले फूटाउनका लागि भूमिका खेलिरहेकाे कुरा तथ्यबाट देखिन्छ’, ज्ञवालीले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top