ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा (एस)का मन्त्री छान्ने जिम्मा संसदीय दलका नेता माधव नेपाललाई

नेपालगाथा २०७८ भाद्र १३ गते आइतबार १६:४५:०२ मा प्रकाशित

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्री छान्ने जिम्मा अध्यक्ष एवं संसदीय दलका नेता माधव नेपाललाई दिएको छ । संसद् भवन नयाँ बानेश्वरमा आइतवार बसेको संसदीय दलको बैठकले मन्त्री छान्ने जिम्मा नेता नेपाललाई दिएको हो । 

एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं सांसद विरोध खतिवडाले मन्त्री छान्ने लगायतका निर्णय गर्ने जिम्मा नेता नेपाललाई दिइएको जानकारी दिए । ‘बारम्बार बैठक बस्न नसकेको स्थितिमा र अहिले संक्रमणकाल भएको हुनाले सरकार गठनका लागि पार्टी अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपाललाई हामीले एकलौटी निर्णय गर्न दिने अधिकार प्रत्यायोजन गरिएको छ,’ खतिवडाले भने ।

खतिवडाले केही दिनमै मन्त्रिमण्डलले पूर्णता पाउने दाबी गरे । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले सरकारमा सहभागी हुने बताएका थिए । आइतवार बसेको संसदीय दलको बैठकले प्रतिनिधि सभामा माधव नेपाल र राष्ट्रिय सभामा बेदुराम भुसाललाई संसदीय दलको नेतामा चयन गरेको छ । 

निर्वाचन आयोगले भदौ ९ गते माधव नेपालको पार्टीलाई आधिकारिकता दिएको थियो । निर्वाचन आयोगले दल विभाजनको सूचना संसद् सचिवालयमा पठाएलगत्तै संसदीय दलको नेता चयन गरिएको हो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top