होमपेज / राजनीति
काठमाडौं। कांग्रेसका शीर्ष नेताहरुबीच फेरि अर्को सहमति भएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूको जारी अनसन आज (शनिबार) तोडिने भएको छ ।
क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने, जिल्ला सभापतिको उम्मेदवारका बारेमा बनाइएको दोहोरो मापदण्ड खारेज गर्नुपर्ने लगायतका माग राखेर जिल्ला सभापतिहरु चार दिनदेखि रिले अनसनमा छन् । शुक्रबार साँझ सभापति शेरबहादुर देउवाले माग सम्बोधन गर्ने बताएपछि जिल्ला सभापतिहरुको रिले अनशन आजदेखि रोकिने कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले जानकारी दिए ।
सभापति देउवासँगको सहमतिबारे ब्रिफिङ गर्न पौडेल समूहका नेताहरुको शनिबार बिहान छलफल भएको थियो । सिंह निवास चाक्सीबारीमा बसेको पौडेल समूहको बैठकले आफूहरुले उठाएका विषयको सम्बोधन गर्न सभापति देउवा सकारात्मक भएकाले अब महाधिवेशनमा केन्द्रित हुने निर्णय गरेको हो ।
‘विधि, नियम अनुसार क्रियाशील सदस्यताको बाँकी काम छानबिन समितिले छिटो टुंग्याउने र महाधिवेशनमा जाने सभापति ज्यूसँग सहमति भएको छ’ नेता सिंहले भने, ‘रिले अनशनमा बसिरहेका जिल्ला सभापतिहरुको माग पूरा गर्ने वातावरण बनेको छ । उहाँलाई अनसन अन्त्य गरेर महाधिवेशनलाई सफल बनाउन अनुरोध गर्ने कुरा भएको छ ।’
जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता सार्वजनिक गरी त्यसमा भएका त्रुटी सच्याउने प्रतिबद्धतासहित जिल्लालाई समय दिनुपर्ने, एक निर्वाचन भएका र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्ला सभापतिको निर्वाचनमा एकरुपमा कायम गर्नुपर्ने र जिल्ला सभापतिले पनि महासमिति सदस्यमा चुनाव लड्न पाउनुपर्ने सहितका माग राखेका थिए । सुरुमा उक्त माग संबोधनमा तयार नभएका सभापति देउवा शुक्रबारको बैठकपछि तयार भएका छन् । अब सकेसम्म शनिबार नै ७७ वटै जिल्लाको क्रियाशील सदस्यता प्रकाशित गरी सच्याउन जिल्लालाई दुई दिनको समय दिइने छ ।
‘फलानो दिन वडा अधिवेशन गर्ने सहमति भनेर उल्लेख छैन तर, एकै दिन गर्ने सहमति भएको छ’, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका स्वकीय सचिव चिरञ्जीवि अधिकारीले भने, ‘शनिबारै ७७ जिल्लाको क्रियाशील सदस्यता प्रकाशित गर्ने सहमति भएको छ ।’ उनले जिल्ला सभापतिको अनसन अन्त्यका लागि पनि क्रियाशील सदस्यता विवाद समाधान समितिले पहल गर्ने समझदारी भएको बताए ।
जिल्ला सभापतिहरुले पारदर्शीताको सहमति निर्माण भएको भन्दै त्यसको कार्यान्वयन हुनेमा आशावादी भएको बताएका छन् । ‘क्रियाशील सदस्यता प्रकाशित गर्ने र सच्याउनका लागि दुई दिनको समय दिने सहमति भएको भन्ने सुनिएको छ । तर, हामीलाई औपचारिक जानकारी आएको छैन’, काभ्रे जिल्ला सभापति मधु आचार्यले भने, ‘विश्वासिलो आधार पाएमा हामी सत्याग्रह अन्त्य गरेर अधिवेशनका लागि जिल्ला जान्छौं ।’