होमपेज / राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र मन्त्रीको आकांक्षी धेरै हुँदा आफू दबाबमा परेको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको आठौँ स्मृति दिवसका अवसरमा शनिबार कोटेश्वरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले मन्त्री बन्न चाहनेहरु धेरै हुँदा आफू मानसिक तनावमा रहेको समेत बताए ।
मन्त्री पाइएन भने नेतृत्वको आलोचना गर्ने र मन्त्री पाएमात्र काम गर्ने प्रवृत्ति अहिले जबर्जस्त रूपमा विकास भएको उनको भनाइ छ।“मन्त्री बन्न मकहाँ दबाब दिने मान्छेहरुको हुलभित्रबाट आएको छु म । आतंक छ मेरो दिमागमा, कसलाई मन्त्री बनाउने, कसलाई नबनाउने । हाम्रो ४९ जना सांसद सबैलाई मन्त्री चाहिएको छ । हामीले पाउने, बढी पाइयो भने सातजना हो,” उनले भने ।
पद र शक्तिका लागि नेता कार्यकर्ताको होडबाजी चल्ने गरेको उल्लेख गर्दै उनले त्यसले कम्युनिष्ट आन्दोलनलाई नै क्षति पुुग्ने सुनाए। मन्त्री बन्न नपाए नेतृत्वलाई गाली गरेर हिँड्ने प्रवृत्ति मौलाएको भन्दै उनले गुनासो पोखे ।