होमपेज / राजनीति
काठमाडौं । दुई समूहमा बाँडिएको नेकपा एमालेलाई पुनः एकीकृत गर्न दुवै समूहले सहमति गर्ने भएका छन् ।शुक्रबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सात घण्टा लामो छलफलपछि नेताहरूले सहमतिमा पुगेको बताएका हुन् ।
‘हामीले सहमतिको मस्यौदा तयार गरिसकेका छौँ । त्यसमा केही भाषागत विषय मिलाउन बाँकी छ, भोलि अपराह्न बैठक बसेर हामी एकताको प्रक्रियालाई टुंगोमा पुर्याउछौँ,’ कार्यदलका सदस्य प्रदीप कुमार ज्ञवालीले भने ।
पार्टीको भविष्य के होला भन्ने कार्यकर्ताको चिन्ता दूर गर्ने उनले बताए । हिजाेको छलफल सकारात्मक, सौहार्द र रचनात्मक भएको उनको भनाइ छ । यस्तै, कार्यदल सदस्य गोकर्ण विष्टले एकता जोगाउने विषयमा कार्यदलले मस्यौदा तयार पारिसकेकाले त्यसलाई शनिबारको बैठकले पूर्णता दिने बताए । ‘सात घण्टा कार्यदलका सदस्यबीच सौहार्दपूर्ण छलफल भएको छ । त्यसबाट सहमतिका बुँदाहरू पनि अन्तिम चरणमा पुगेका छन् । हामी भोलि बसेर टुंगोमा पुर्याउछौँ,’ उनले भने ।