होमपेज / राजनीति
काठमाडौं । एमाले एकता कार्यदलले सहमतिका लागि तयार पारेको मस्यौदाका विषयमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको छ ।
भेटवार्तामा दुबै नेताले आ-आफ्नो अडान नछोडेपछि कुनै ठोस सहमति हुन नसकेको स्रोतले जानकारी दिएकाे छ। राजधानीको नक्सालस्थित मेरियट होटलमा भएको वार्तामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले नेपालसमक्ष विपक्षी गठबन्धन छोडेर आफूलाई निःशर्त सहयोग गर्न भनेका थिए। तर उनले जेठ २ को विषयमा कुनै कुरा ननिस्किएपछि नेता नेपाल सहमत नभएको स्रोत बतायो।
'शीर्ष नेताहरूबीचमा लामो समयपछि कुराकानी भयो । अहिलेसम्म गरेका कुराकानीमा सकारात्मक परिणाम कसरी निकाल्ने भन्ने विषयमा छलफल भएको छ । हामी भोलि पुनः छलफल गर्छौं । त्यसपछि शीर्ष नेताहरूबीच कुराकानी हुनेछ,' नेता भीम रावलले भने। कार्यदल र शीर्ष नेताहरूबीच निरन्तर छलफल जारी राख्ने विषयमा अध्यक्ष ओली र नेता नेपाल सहमत भएको उनको भनाइ छ ।यसैबीच अध्यक्ष ओलीका तर्फबाट नेताहरू ईश्वर पोखरेल र विष्णु पौडेल तथा वरिष्ठ नेता नेपाल तर्फका भीम रावल र सुरेन्द्र पाण्डेसहित भएको वार्ता सकारात्मक दिशातर्फ अगाडि बढेको प्रतिक्रिया दिए।