होमपेज / राजनीति
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले व्यक्तिगत रूपमा आफू पार्टी अध्यक्ष केपी ओलीको पक्षमा रहेको भन्दै एकताको प्रयासलाई सार्थक निष्कर्षमा पुर्याउन आग्रह गरेका छन् । एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले आफू सधैँ क्रिटिकल रहेको बताए ।
“अध्यक्षले आउने–जाने नगर्न भने पनि म सँधै क्रिटिकल छु । विषय अनुसार समर्थन र विरोध गर्छु,” उपाध्यक्ष गौतमले भने, “अविश्वासको प्रस्ताव र विघटन दुबै मलाई थाहा थिएन । दुबै पक्षमा म थिइनँ र छैन पनि ।” उनले पार्टीलाई फुटबाट जोगाउन आफूले हरि पराजुली र लालबहादुर विश्वकर्मासहित तीनजना मिलेर एकताको लागि फोरम बनाएको बताए ।
उनले भने, ‘मैले आजसम्म मित्रघात गरेको छैन, जे भनिरहेको छु यो हाम्रो हितमा छ । व्यक्तिगत रूपमा म ओलीकै पक्षमा छु । तर, मुख्य नेतालाई अपमान गरेर एकता हुँदैन, हतार गर्नुहुन्न, माधव नेपालसहितको एकता हुनुपर्छ ।’गौतमले एमालेका सांसदले कांग्रेस सभापतिलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नु अनैतिक भएको समेत बताए ।