होमपेज / राजनीति
सुर्खेत । नेकपा एमालेका नेता तथा कर्णाली प्रदेशका इन्चार्ज यामलाल कँडेलले मदन भण्डारीकाे मार्ग निर्देशनलाई आत्मसात गर्दै अगाडि बढ्ने बताउनुभएकाे छ । मदन भण्डारी फाउन्डेसन सुर्खेतद्वारा आयाेजित जननेता मदन भण्डारीको ७०औं जन्म जयन्तीको अवसरमा 'जनताको बहुदलीय जनवाद र जननेता मदन भण्डारी' विषयक अन्तरक्रिया कार्यक्रममा नेता कँडेलले यस्ताे बताउनुभएकाे हाे ।
नेता कँडेलले नेपालको कम्युनिष्ट आन्दोलनलाई शान्तिपूर्ण र बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक कार्यदिशामा उत्प्रेरित गराउन जनताको बहुदलीय जनवाद निर्णायक विचार भएकाे बताउँदै मदन भण्डारीले लोकप्रिय बनाएको नेकपा एमाले पार्टी यतिबेला मुख्य शक्ति भए पनि राष्ट्रिय राजनीतिक स्थितिमा फुट र विभाजनको आशङ्कामा रहेको बताउनुभयाे । आफ्नो भाषणकलाबाट नै सबैलाई आकर्षित पार्न सक्ने खुबी भएका मदन भण्डारीको अद्भूत कलालाई कट्टर बिरोधिहरु पनि एकछिन उभिएर उनको भाषण सुन्ने गरेकाे बताउँदै नेता कँडेलले मुलुकमा हिंसात्मक बाटो होईन शान्तिपूर्ण जनक्रान्तिबाट नै जनताका परिवर्तनका आकाङ्क्षा पूरा गर्न सकिन्छ भन्ने व्यवहारको स्थापित गर्न मदन भण्डारीकै मार्गदर्शन आवश्यक रहेको जाेड दिनुभयाे ।

जनताको बहुदलीय जनवादलाई साझा विचारको रुपमा मानिए पनि वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहितका केही नेताहरु यतिबेला प्रधानमन्त्री ओलीलाई जसरी पनि सत्ताबाट हटाउन नेपाली काङ्ग्रेस र नेकपा माओवादीसँग गठबन्धन गरेर नेपाली काङ्ग्रेसका सभापती शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन अग्रसर भएको बताउनुभयाे। जबजको संश्लेषणसँग प्रतिस्पर्धा गर्न सक्ने नेपाली मौलिकताको सापेक्षतामा अर्काे विचार वामपन्थीभित्र मात्र होइन लोकतान्त्रिक शक्तिसँग पनि नभएको नेता कँडेलले जिकिर गर्नुभयाे। नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले वैचारिक धरातल बलियो बनाउन नसक्दा पार्टी नेतृत्व माथि प्रश्न उठ्न थालेको नेता कँडेलकाे भनाइ थियो ।
एमालेको पाँचौंँ राष्ट्रिय महाधिवेशनमा जननेता भण्डारीबाट प्रस्तुत र पारित नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्त रहेको बताउँदै नेता कँडेलले जबजका विशेषता संविधानको सर्वाेच्चता, बहुलवादी खुला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, मानवाधिकारको रक्षा, बहुदलीय प्रतिस्पर्धाको प्रणाली, आवधिक निर्वाचन, बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष, कानूनको शासन, जनताको जनवादी व्यवस्थाको सुदृढीकरण, राष्ट्रिय शर्तमा विदेशी पूँजी र प्रविधिको उपयोग, शोषित पीडितलाई क्षतिपूर्तिलगायतका आयामलाई नेपालको संविधानले समेटेको बताउनुभयाे । दलहरुका चुनावी घोषणापत्रमा समेत जवजका सिद्दान्तहरु समेटिएकाे बताउँदै नेता कँडेलले भण्डारीका विचारलाई माने पनि नेपालका कम्युनिष्ट शक्तिहरु एउटै मोर्चामा अहिलेसम्म कटिबद्ध हुन नसक्दा मुलुकमा स्थिरता र समृद्धि आउन नसकेकाे बताउनुभयाे ।
.jpg)
कार्यक्रमका सहभागी नेताहरुले मदन भण्डारीको मार्गनिर्देशनलाई आत्मसात गर्दै सम्पुर्ण पार्टी पंक्तिका नेता कार्यकर्ताहरुलाई एकजुट भएर अघि बढ्न सुझाव दिएका थिए । नेकपा एमालेका युवा नेता घनश्याम पाण्डेले संचालन गर्नुभएकाे अन्तरक्रिया कार्यक्रममा सुर्खेत जिल्ला पार्टी अध्यक्ष ध्रुबकुमार शाही, पुर्वमन्त्री खड्कबहादुर खत्री, पदमा खड्का, दान सिंह परियार, टेकेन्द्रकुमार बस्नेत, कुलमणी देवकोटा, ताराकेशर गाैतम, गङ्गाराम तिमिल्सिना लगायतका नेता तथा कार्यकर्ताहरुकेा उपस्थिति रहेको थियोे ।