होमपेज / राजनीति
काठमाडौं । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको रक्षा गर्दै संविधानको समयानुकूल परिमार्जन गर्ने उद्देश्यको जगमा पाँच दलीय गठबन्धन सम्भव भएको बताएका छन् ।बिहीबार विपक्षी गठबन्धनको सम्पादकहरूसँगको छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले विपक्षी दलहरूबीचको गठबन्धन सैद्धान्तिक, व्यवहारिक, राजनीतिक र राष्ट्रिय भावनाको आधारलाई समेटेर बनाइएकोले लामो समयसम्म सँगसँगै जानसक्ने बताए ।
प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली ‘भिलेन’ भएको भन्दै आलोचना गरेका छन्।उनले प्रतिनिधि सभा विघटन गरेको र एकपछि अर्को असंवैधानिक कदम चालेकोमा प्रधानमन्त्रीको आलोचना पनि गरेका थिए।
“यो गठबन्धन कुनै अवसरवादी गठबन्धन होइन । प्रधानमन्त्रीको निम्ति भएको संघर्ष पनि होइन । यो संविधान, लोकतन्त्र र राष्ट्रको हितको पक्षमा उभिने र नउभिने बिचको लडाइँ हो । सिस्टम बचाउने वा नबचाउने भन्ने विचको लडाइँ हो,” उनले भने ।यस्तै प्रचण्डले पाँच दलीय गठबन्धन छलफलपछि मात्रै बनेको र दीर्घकालसम्म रहने पनि बताएका छन्।
प्रचण्डले सर्वोच्च अदालतमा आफूहरूको कुनै सेटिङ नभएको पनि बताए । मन्त्री नियुक्ति बदर गर्ने सर्वोच्चको फैसलाअघि आफूले बोलेको कुरालाई सेटिङ भनेर टिप्पणी गरिएको भन्दै उनले आफूहरू सेटिङ गरेर शासन गर्नेवाला नभएको बताए । बरु प्रधानमन्त्री ओलीले न्यायाधीश र राज्यका अन्य निकायलाई प्रभावमा राख्ने प्रयास गरेको उनको आरोप छ ।
उनले नेकपा एमालेभित्रको संघर्ष अलि पेचिलो रहेको पनि बताए।