होमपेज / राजनीति
काठमाडाैं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले देशमा बिथाेलिएकाे वर्तमान राजनैतिक अवस्थाले चिन्तित बनाएकाे बताउनुभएकाे छ । उपचारको क्रममा आएका एकपछि अर्को स्वास्थ्य समस्याको कारण डाक्टरहरुको सल्लाहमा दिल्ली जानु अघि वरिष्ठ नेता खनालले प्रेस वक्तव्य मार्फत् चिन्ता व्यक्त गर्नुभएकाे हाे । वरिष्ठ नेता खनालले राष्ट्रिय एकता-अखण्डता लोकतन्त्र र स्थायीत्वको खम्बाको रुपमा रहेका दलहरुभित्र यस्तो हुनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ती दुर्भाग्यपुर्ण अवस्था भएकाे बताउनुभएकाे छ । वरिष्ठ नेता खनालले सबै एकजुट भएर मुलुकका मुलभुत समस्याहरु हल गर्नु सबैलाई आग्रह गर्नुभएकाे छ ।
वरिष्ठ नेता खनालले नेकपा (एमाले) पार्टी सयौँ सहिदहरुको वलिदान, हजारौं योद्धाहरुको रगत पसिना, कैयौँको प्रवास, जेल, भुमिगत जिवनको संघर्ष, त्याग र तपस्याको कारण सफलताको यो विन्दुसम्म आइपुगेको उल्लेख गर्दै सो त्यागले यो पार्टी देशको नेतृत्वदायी पार्टी बनोस, राष्ट्र र जनताको हित तथा विकास र समृद्धिको बाहक बनोस् र बन्नेछ भन्ने अपेक्षा राख्नुभएकाे छ । तर जनताको चाहना र अपेक्षा विपरित हामिमा देखिएको अनेकौं गलत प्रवृत्तिहरु, बदलाको भाव र अनावश्यक ईगोका कारण पार्टी जिवनमा यतिखेर गम्भीर संकट उत्पन्न भएको दर्शाउँदै वरिष्ठ नेता खनालले देश, लोकतन्त्र र पार्टीको यो अवस्थाले आफूलाई अत्यन्तै चिन्तित बनाएको प्रेस वक्तव्यमा उल्लेख गर्नुभएकाे छ ।
उहाँले पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गर्यौ भने मात्र हामी सफल हुन सक्छौँ र सिङ्गो राष्ट्रको नेतृत्व गर्न सक्ने हुनाले टुट-फुट र विभाजन होइन एकता गर्ने गराउने कार्यमा अगाडी बढौं भन्ने सबैमा आह्वान गर्नुभएकाे छ ।
