ट्रेण्डिङ

होमपेज / राजनीति

चुरे क्षेत्रबाट एक डाेकाे माटो, एक डोको गिट्टी वा बालुवा पनि उठाउँदैनाैँ : मन्त्री पाैडेल

नेपालगाथा २०७८ जेठ २४ गते सोमबार १७:०७:१० मा प्रकाशित

काठमाण्डाै। अर्थ मन्त्री विष्णुप्रसाद पौडलले चुरे क्षेत्रबाट एक डाेकाे माटो वा एक डोको गिट्टी वा बालुवा पनि नउठाउने बताउनुभएकाे छ । नेपाल आर्थिक पत्रकार सङ्घले आयोजना गरेको बजेट कार्यान्वयनका चुनौती र तिनका समाधानका विषयमा गरेको भर्चुअल छलफल कार्यक्रममा बोल्दै अर्थ मन्त्री पौडेलले सरकार चुरेको संरक्षणमा प्रतिबद्ध रहेको बताउँदै चुरे क्षेत्रमा कुनै पनि प्रकारका उत्खनन नहुने बताउनुभयो । त्यस क्षेत्रको एक डोको माटो पनि नझिकिने उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, चुरे संरक्षण नेपाल र नेपालीको सुन्दर भविष्यका निम्ति चुरेको संरक्षण सर्वाधिक महत्त्वपूर्ण विषय हो । चुरे क्षेत्रमा हामीले कुनै पनि प्रकारले उत्खननका काम नगर्ने, माटो, ढुङ्गा, गिट्टी, बालुवा, कुनै पनि चिज उत्खनन नगर्ने, चुरे क्षेत्रको सम्पूर्ण रूपमा संरक्षण गर्ने दृष्टिकोण अघि सारिएको छ । चुरे, शिवालिक, भावर क्षेत्रबाट, नदी क्षेत्रबाट हामी एक डोको माटो वा एक डोको गिट्टी वा बालुवा पनि हामी उठाउँदैनौँ ।

छलफलमा मन्त्री पाैडेलले आर्थिक वर्ष २०७८/०७९ को बजेट कार्यान्वयन गर्न सरकारले ठोस पहलकदमी लिने बताउनुभएको छ । उहाँले आउँदाे आर्थिक वर्षका निम्ति ल्याइएको बजेट कार्यान्वयन हुने बताउनुभयो । चुनावी सरकारले ल्याएको बजेट कार्यान्वयन हुन कठिन हुन सक्ने आशङ्का गरिएकोप्रति लक्षित गर्दै उहाँले बजेट कार्यान्वयन र चुनावकाे विषय सँगसँगै अगाडि बढ्ने बताउनुभयो ।

मन्त्री पाैडेलले भन्नुभयो, बजेटको कार्यान्वयन र चुनावकाे विषय सँगसँगै अगाडि बढ्छ । एउटा छोड्नुपर्ने र एउटा समाउनुपर्ने विषय होइन । यी दुवै एकैसाथ बढाउनुपर्ने विषय हुन् । सरकारलाई निरन्तरतामा बुझ्नुपर्छ । सरकारको बजेटलाई पनि निरन्तरतामा बुझ्नुपर्दछ । वर्तमान सरकार बजेट कार्यान्वयनका निम्ति सङ्कल्पबद्ध छ र यो बजेट कार्यान्वयन हुन्छ भन्ने मान्यतामा विश्वास गर्दछ । र त्यस हिसाबले पहलकदमी लिने कुरामा विश्वास गर्दछ ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top