होमपेज / राजनीति
काठमाडौँ । निवर्तमान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सरकारबाट बाहिरिए लगत्तै ज्ञवालीले झण्डै सवा ३ वर्ष परराष्ट्रमन्त्रीको जिम्मेवारीमा रहँदा आफूले पाएको तलब–भत्ताबाट पार्टीलाई दिएको लेभी र कर कट्टीपछिको बचत विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।
उनले मन्त्रीकालमा विदेश भ्रमण बापतको लेवी ३ लाख १४ हजार ९ सय ३० र पारिश्रमिक बापतको लेी ६ लाख २० हजार गरी ९ लाख ३४ हजार ९ सय ३० रुपैयाँ पार्टीको खातामा जम्मा गरिएको उल्लेख गरेका छन्। साथै, कर बापतको ३ लाख ७२ हजार ४ सय ९१ रुपैयाँ सरकारी कोषमा दाखिला गरिएको र हाल आफ्नो बैङ्क खातामा ७ लाख ४१ हजार ७७५ रुपैयाँ बचत रहेको विवरण ज्ञवालीले सार्वजनिक गरेका छन्।
उनले आफू मन्त्री हुँदा घरमा केही सामान र दुई सय जति पुस्तकहरू थपिएको उल्लेख गरेका छन्। ज्ञवालीले आफूले प्रयोग गर्दै आएको सरकारी सवारीसाधन र ल्यापटप शुक्रवार नै मन्त्रालयलाई फिर्ता गरिसकेको र आज बिहानै पुल्चोकस्थित सरकारी निवास छाड्ने तयारी रहेको पनि जानकारी दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने ज्ञवाली हाल एमाले प्रवक्ताको जिम्मेवारीमा छन्। हाल परराष्ट्रमन्त्रीमा रघुवीर महासेठलाई नियुक्त गरिएको छ।
धन्यवाद तथा आभार ! pic.twitter.com/XhwiwFatGD
— Pradeep Gyawali (@PradeepgyawaliK) June 4, 2021