ट्रेण्डिङ

होमपेज / राजनीति

सुर्खेतमा नेकपा एमाले गोलवद्ध

'माधव नेपालसँगै सति जान सकिदै‌न'

नेपालगाथा २०७८ जेठ ११ गते मंगलबार १७:२७:३७ मा प्रकाशित

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुर्खेतका नेता तथा कार्यकर्ता सबै आफ्नै पार्टीमा एकजुट भएका छन् । केन्द्रीय राजनीतिमा माधव नेपालको टीमले नयाँ पार्टी खोल्ने तयारी गरिरहेको वेला सुर्खेतमा भने नेकपा एमालेका नेता तथा कार्यकर्ता सबै एक ढिक्का बनेका हुन् । कर्णाली प्रदेशका इन्चार्ज यामलाल कंडेलको उपस्थितिमा मंगलबार नेकपा (एमाले) सुर्खेतका उपलब्ध सचिवालय सदस्यहरुको अनौपचारिक बैठक बसेर नेकपा (एमाले) एक भएको सन्देश दिएका हुन् । 

नेकपा एमालेका नेता तथा सचिवालय सदस्य घनश्याम पाण्डेले कोरोना महामारीको अवस्था र लकडाउनका कारण सचिवालय सदस्य सबै उपस्थित हुन नसके पनि सबैसँग टेलिफोन परामर्श गरी बैठकको निर्णयमा सहमती जनाएको बताए । उनले सुर्खेतमा नेकपा (एमाले) का केही बाहेक सबै नेता तथा कार्यकर्ता एकजुट भएको प्रतिक्रिया दिए । बैठक पछि नेपालगाथासँग उनले भने, ‘जिल्ला कमिटी सुर्खेतको सचिवालय सदस्य १६ जना मध्ये एकजना सदस्यको मात्र फरक खालको विचार आएकाले उहाँ पनि मुल नेकपा एमालेमा नै गोलवद्ध हुने विश्वास लिएका छौं ।’ नेकपा एमालेका नेता तथा कार्यकर्ताले दिएकाे जानकारी अनुसार माधव नेपालसँगै सति जान सुर्खेतमा काेही पनि तयार हुनेवाला छैनन् ।

बैठकले नेकपा एमाले जिल्ला कमिटीको नाममा केही व्यक्तिहरुले पार्टी विरोधी गतिविधि र सरकारका विरुद्ध आन्दोलनको अनाधिकृत अपिल समेत गरेकाले उक्त कार्यको निन्दा एवम् भत्र्सना गरेको छ । बैठकले नेकपा एमाले सम्वद्ध नेता तथा कार्यकर्ताहरुलाई कुनै पनि कुराको भ्रममा नपर्न हुन र यस्ता गतल क्रियाकलापहरुमा सहभागी नहुन समेत अनुरोध गरेको छ । साथै बैठकले कोभिड–१९ को महामारी विरुद्धको अभियानलाई सफल पार्न आब्हन समेत गरेको छ । 

यस अघि सरकारका विरुद्ध आन्दोलनको अनाधिकृत अपिलमा विपक्षी राजनीतिक दलसँगै नेकपा (एमाले) सुर्खेतका सचिव मोहनसिंह बडुवालले हस्ताक्षर गरेर संयुक्त प्रेस वक्तव्य निकालेका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top