होमपेज / राजनीति
काठमाडौं । राष्ट्रिय सभामा रिक्त एक पदका लागि आज उपनिर्वाचन हुँदैछ । आज हुने मतदानको सम्पुर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिकास्थित भुटनदेवी माविमा निर्वाचन हुन लागेको हो । मतदानका लागि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको मुख्य निर्वाचन अधिकृत डिल्लीरमण श्रेष्ठले जानकारी दिए ।निर्वाचनमा मतादताहरुले पीसीआर रिपोर्ट देखाउनुपर्ने लगायत स्वास्थ्य मापदण्ड लागु गरिएको आयोगले जनाएको छ ।
गोप्य मतदान भएकाले मतदान स्थलामा मोबाइल, क्यामेरा प्रयोगमा बन्देज, मादक पदार्थ सेवन गरी आउन नपाइने र हातहतियार प्रयोग गर्न नपाउनेलगायतका नियम बनाइएको छ ।निर्वाचनमा एमालेबाट गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादल उमेदवार रहेका छन् । त्यस्तै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी ९जसपा० विपक्षी गठबन्धनबाट डा. खिमलाल देवकोटा उमेदवार छन् । उनलाई एमालेको खनाल–नेपाल समूहको समेत साथ रहेको बताइन्छ । तर, एमालेको विवाद समाधानका लागि कार्यदल बनेर काम सुरु गरिसकेकाले उक्त समूहको भोट कता हाल्ने भन्ने अझै टुंगो नरहेको नेताहरु बताउँछन् । त्यस्तै नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०ले कृष्णबहादुर तामाङलाई उमेदवार बनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले एमालेका उमेदवार र राष्ट्रिय जनमोर्चा राजमोले गठबन्धनका उमेदवारलाई सघाउने घोषणा गरेको छ ।