होमपेज / राजनीति
काठमाडौं । नेकपा(माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले अझैपनि कम्युनिष्ट पार्टीहरुबीचको एकता आवश्यक रहेको बताएका छन् ।विदेशी शक्तिका साथै एकताको मर्म नबुझ्ने प्रवृत्तिले एकतामा भाँजो हालेको उनले बताए ।
सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नेपाली क्रान्तिलाई अगाडी बढाउन र समाजवाद स्थापना गरी कम्युनिष्ट आन्दोलनलाई विश्व साम्यवादको दिशातिर लैजाने उद्देश्य प्राप्तिका लागि कम्युनिष्ट पार्टीहरुको एकता आवश्यक रहेको बताएका हुन् ।
विगतमा नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) केन्द्रले राजनीतिक परिवर्तनको रक्षा गरी राष्ट्रिय स्वाधिनता सुदृढ गर्ने, सामाजिक–आर्थिक रुपान्तरण गर्ने र समाजवाद स्थापना गर्ने लक्ष्य साथ पार्टी एकिकरण गरिएको भएपनि देशी विदेशी शक्तिहरुको योजनामा पार्टी फुटाइएको नेता श्रेष्ठको भनाई छ ।
‘हाम्रो उद्देश्यलाई कायमै राख्नुपर्छ,’ माओवादी केन्द्रका नेता श्रेष्ठले भने, ‘पार्टी एकता एकचोटी विदेशी र देशभित्रका पार्टी एकताको मर्म नबुझ्ने र जनताप्रति गम्भीर र इमान्दार नहुने प्रवृत्तिले पार्टी एकतालाई विभाजनमा पु¥यायो भनेर कम्युनिष्टहरुको एकता काम नलाग्दो रहेछ भन्ने सोच्नु गलत हुन्छ ।’
उनले अघि भने, ‘वैचारिक राजनीतिक कार्यदिशालाई सही ढंगले प्रष्ट पारेर, सांस्कृतिक रुपान्तरणको अभियान पनि कम्युनिष्ट आन्दोलनमा अगाडि बढाएर जानुपर्छ ।’
समयमै विभिन्न विषयमा ध्यान दिन नसक्नु कमजोरी भएको र कमजोरी सच्याउन खोज्दा पार्टी विभाजन भएको उनले बताए । यद्यपि कम्युनिष्ट पार्टीहरुबीचको एकीकरण गर्न आफूहरुले हिम्मत नहार्ने माओवादी केन्द्रका नेता श्रेष्ठले बताए ।