होमपेज / राजनीति
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशका इन्चार्ज तथा प्रमुख प्रतिपक्षी संसदीय दलका नेता यामलाल कंडेलले प्रदेश सरकारको असक्षमताको पराकाष्ठा प्रदेश अस्पतालमा देखिएको आरोप लगाएका छन् । नेता कंडेलले प्रदेश सरकारसँग स्रोतको अभाव नभएको बताउँदै आफूसँग भएको स्रोतको परिचालन गर्न नसक्ने असक्षम सरकार कर्णालीमा भएको भन्दै याे भन्दा लज्जित हुने कार्य अरु नभएको बताए ।
सामाजिक सञ्जालमा शनिबार एक विज्ञप्ति जारी गर्दै नेता कंडेलले सरकारको ध्यान नागरिकलाई महामारीबाट बचाउनेतर्फ केन्द्रित नभएको आरोप समेत लगाएका छन् । ‘अहिलेको महामारीको बीचमा अस्पताललाई यस्तो सूचना सार्वजनिक गर्नुपर्ने स्थितिमा पुर्याउनु सम्बन्धित जिम्मेवार निकायको असक्षमताको पराकाष्ठा नै हो । प्रदेश सरकारसँग श्रोतको अभाव छैन । संघीय सरकारसँग समन्वय गरेर आफ्नो प्रदेशमा सहयोग जुटाउने दायित्व पनि प्रदेश सरकारको नै हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
कर्णाली प्रदेश सरकारलाई प्रचारमुखी भन्दा परिणाममुखी काम गर्न सुझाव दिँदै नेता कंडेलले पहिला महामारीबाट जनताको ज्यान जाेगाउनतर्फ सबै एकजुट भएर लागाैं अरू कुरा पछि गर्दै गरौला भनेका छन् ।