होमपेज / राजनीति
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विपक्षी दललाई नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदैछ। प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मतमा पराजित भएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२)अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर नयाँ सरकार बनाउन दिएको ३ दिनको समय आज राति ९ बजे सकिने भएको हो ।
तर, विपक्षी दललाई बहुमत जुटाउन हम्मेहम्मे देखिएको छ । हालको संसदको विद्यमान अवस्थामा विपक्षी गठबन्धनलाई बहुमत पुर्याउन कम्तीमा पनि थप १२ सांसदको आवश्यकता पर्छ। त्यसका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एमालेका असन्तुष्ट पक्षको राजीनामा वा समग्र जनता समाजवादी पार्टी एकढिक्का नभएसम्म विपक्षी गठबन्धनको बहुमत पुग्दैन। तर विश्वासको मत दिने दिन तटस्थ बसेको जसपाको महन्थ ठाकुर पक्ष नयाँ सरकार गठनको पक्षमा छैन।
हाल कांग्रेससँग ६१ र माओवादी केन्द्रसँग ४८ सांसद छन् । जसपाको उपेन्द्र यादव डा. बाबुराम भट्टराई पक्षमा १५ वा १६ जना सांसद छन् । उक्त आंकलनअनुसार विपक्षी गठबन्धनसँग १२५ को हाराहारीमा मात्रै सांसद हुन्छन् । बहुमतका लागि १ सय ३६ आवश्यकता पर्छ । एमालेको असन्तुष्ट पक्षका प्रत्यक्षतर्फका १९ जनाले राजीनामा दिँदा २७१ सदस्यीय प्रतिनिधिसभामा सांसद संख्या २ सय ५२ मा झर्नेछ । त्यसपछि बहुमतका लागि १ सय २७ सांसद आवश्यक हुन्छ । तर, यो विषय पनि टुंगो लागि नसक्दा विपक्षीलाई बहुमत जुटाउन सकस नै छ।
आज राति ९ बजेसम्म विपक्षीले कुनै विकल्प निकाल्न सकेनन् भने सरकार गठनको नयाँ प्रक्रिया सुरु हुनेछ। संविधानको धारा ७६ को (३) बमोजिम प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्ति हुन सक्ने अवस्थामा नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । त्यसमा पनि प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको एमालेकै ओली प्रधानमन्त्रीमा फर्कनेछन् ।