होमपेज / राजनीति
सुर्खेत । कर्णाली प्रदेश सरकारले नेकपा माओवादीका सांसदहरुलाई पालै पालाे मन्त्री बनाएकाे छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वैशाख ३ गते सदनबाट विश्वासको मत पाएसँगै दोस्रो पटक मन्त्रिपरिषद् हेरफेर गर्दै आफ्नै दलकाे काेटाबाट बनेका दुई मन्त्रीलाई सरकारबाट फिर्ता बाेलाएर अन्य तीन जनालाई मन्त्री बनाएका छन् ।
वैशाख ५ गते फ्लोर क्रस गरेर सरकार जोगाइदिएका तीन एमाले सांसदलाई मन्त्री बनाएका मुख्यमन्त्री शाहीले आज माओवादी केन्द्रका थप ३ जनालाई मन्त्री नियुक्ति गरेका हुन् । नवनियुक्त मन्त्रीमा गोपाल शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालय र सांसद विन्दमान विष्टलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले आज बिहानको मन्त्रिपरिषद् बैठकमा दिएकाे राजीनामा स्वीकृत गर्दै मुख्यमन्त्री शाहीले थप नयाँ मन्त्री नियुक्त गरेकाे स्राेतले जानकारी दिएकाे छ ।
मन्त्री बनाउन मन्त्रालय फुटाइयाे
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नै दलका सांसदलाई मन्त्रीकाे भागबण्डा मिलाउन मन्त्रालय फुटाएका छन् । मुख्यमन्त्रीले सांसद सीता नेपालीलाई मन्त्री बनाउन पूर्वाधार विकास मन्त्रालय फुटाएर जलस्रोत मन्त्रालय बनाएका छन्।
अब मन्त्री हुने पालाे अन्य साथीहरुकाे
आर्थिक मामिला तथा योजना मन्त्री एवम् सरकारकाे प्रवक्ता समेत रहेकी विमला केसीले पार्टीको निर्णय अनुसार नै राजीनामा दिएको बताएकी छिन् । उनले दलकाे निर्देशन अनुसार पद त्यागेकाे बताएकी छिन् । उनले भनिन्, 'नयाँ मन्त्री बनाउने बाटो खुल्ला गरिदिएका हौं । तीन वर्ष तीन महिना हामी मन्त्री भइसकेका छौं, ‘अन्य साथीहरूलाई पनि पालो दिनु पर्याे ।’