होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउँदिन भन्ने थाहा पाउँदा पाउँदै पनि विश्वासको मत मागेको भन्दै कटाक्ष गरेका छन् । प्रधानमन्त्री ओलीले आज संसद्मा विश्वासको मत मागेका छन् ।
देउवाले तीन वर्षमा सरकार पूर्ण रुपमा असफल भएको बताएका छन् ।देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीमा संविधानभन्दा माथि हुँ भन्ने दम्भ रहेको आरोप लगाएका छन् ।
“प्रधानमन्त्री केपी ओलीजीले विश्वासको मत पाउँदिन भन्ने थाहा पाउँदा पाउँदै पनि विश्वासको मत माग्नुभएको छ,” संसद् बैठकमा देउवाले भने । उनले संघीय लोकतान्त्रिक गणतन्त्रका विषयमा उठिरहेको प्रश्नबाट भाग्न पनि नसक्ने बताए ।
उनले प्रधानमन्त्री ओलीले संविधान र संसदीय मान्यताविपरीत कार्यसम्पादन गरिरहेको आरोप लगाए । देउवाले सभामुखलाई जानकारी नै नदिई संसद अधिवेशन अन्त्य गर्ने काम गरेको पनि बताए ।