होमपेज / राजनीति
सुर्खेत। कर्णाली प्रदेश सरकारले कर्णालीका १० जिल्लाका जिल्ला अस्पतालाई एक-एक करोड रकम प्रदान गर्ने भएको छ। वैशाख १७ गते शुक्रबार बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले एक लाख राहत दिने निर्णय गरेको हो। कोभिड–१९ रोग रोकथाम तथा व्यावस्थापनका लागि आवश्यक अक्सिजन सिलिन्डर, अक्सिजन आपूर्तिजस्ता विषयहरुमा समाधान गर्न प्रदेश विपद् व्यवस्थापनबाट यक्त रकम प्रदान गरिने सरकारकी प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीले जानकारी दिइन्।
उनका अनुसार प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, चौरजहारी अस्पताल रुकुमलाई एक-एक करोड साथै मेहेलकुना अस्पताल सुर्खेत र दैलेख अस्पताललाइ ५०-५० लाख रकम कोभिड–१९ रोग रोकथाम, व्यावस्थापनका लागि आवश्यक अक्सिजन सिलिण्डर, अक्सिजन आपूर्तिजस्ता विषयहरुमा समाधान गर्न प्रदेश विपद् व्यवस्थापन कोषबाट प्रदान गरिने मन्त्री केसीले बताइन्।
त्यस्तै सरकार विषयगत मन्त्रालयहरुबाट समर्पण भएको एवम् आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध बजेटबाट प्रदेश विपद् व्यवस्थापन कोषमा कोभिड–१९ सँग सम्बन्धित समस्याहरूको समाधान गर्न हाललाई ५० करोड रकम जम्मा गरेको छ।
कर्णालीमा २०७८ मा सातवटा विदा स्वीकृति
त्यस्तै, मन्त्री केसीका अनुसार कर्णाली प्रदेश अन्तर्गत २०७८ सालमा हुने सार्वजनिक बिदाहरूसमेत स्वीकृत गर्ने निर्णय भएको छ। जसअन्तर्गत कर्णालीमा २०७८ वर्षभरि सातवटा सार्वजनिक बिदा स्वीकृति भएका छन्। जसमा धान दिवस असार १५ गतेका दिन कर्णालीका जुम्ला जिल्लाबाहेक सबै जिल्लामा बिदा हुनेछ। भने चैत १२ गते धान दिवस र चन्दननाथ मन्दिरको लिङ्गो बोक्ने मेला असोज कृष्ण त्रयोदशीको दिन जुम्ला जिल्लामा मात्र सार्वजनिक बिदा हुनेछ।
यस्तै, साउन संक्रान्ति तथा देउडा पर्व साउन १ गते, प्रदेश स्थापना तथा शहिद दिवस भदौ ४ गते, श्रीकृष्ण जन्माष्टमी भदौ १४ गते र असोज शुक्ल पूर्णिमा र कार्तिक ३ गते प्रदेशभर बिदा हुने प्रवक्ता केसीले बताइन् ।
चार विधेयकलाई स्वीकृति प्रदान
प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेशसभामा पेश गर्न चार विधेयकलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। ‘प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७५’ लाई संशोधन गर्न बनेको विधेयक, ‘प्रदेश लोकसेवा आयोग ऐन, २०७५’ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न बैठकले स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता केसीको भनाइ छ।
त्यस्तै, ‘कर्णाली प्रदेश लोकसेवा आयोगका अध्यक्ष र सदस्यको पारिश्रमिक, सेवा शर्त र सुविधासम्बन्धी विधेयक’ तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने र ‘प्रदेश सुशासन प्रवर्द्धन केन्द्र (स्थापना र सञ्चालन) विधेयक,’ २०७८ प्रदेशसभामा दर्ता गर्ने निर्णय भएको उनले बताइन्।’ मन्त्री केसीका अनुसार डोल्पा जिल्ला ठूलो भेरी नगरपालिकाको वडा संख्या र सिमाना हेरफेर गर्न नेपाल सरकार समक्ष पठाउने निर्णय भएको छ।