होमपेज / राजनीति
काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरूले एमालेका नेता शंकर पोखरेलसँग बहुमत नरहेको भन्दै शपथ रोक्न लिखित निवेदन दिएका छन् ।
मुख्यमन्त्री शंकर पोखरेलले एकल बहुमतको सरकार गठन गर्ने तयारी गरिरहेको समयमा प्रदेशसभाका ४० सांसदले प्रदेश प्रमुखलाई भेटेर सपथ नगराउन माग गरेका हुन् ।प्रदेश प्रमुखलाई निवेदन दिएर बाहिरिने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै कांग्रेस प्रमुख सचेतक फखरुदीन खानले मुख्यमन्त्री शंकर पोखरेलसँग एकल बहुमतको सरकार बनाउन बहुमत नरहेको बताएका छन।
‘उहाँसँग एमाले एक्लैको सरकार बनाउन बहुमत छैन,’ उनले भने, ‘हामीले उहाँको शपथ अघि नबढाउन प्रदेश प्रमुखलाई आग्रह गरेका छौँ ।’
मुख्यमन्त्री पोखरेलले बहुमत गुमाइसकेकाले पुन: नियुक्त गर्न नमिल्ने विपक्षी दलको दाबी छ ।८१ सदस्यीय प्रदेशसभामा एमालेको पक्षमा ४१ सांसद रहेको भनिए पनि उपनिर्वाचनबाट विजयी सांसद विमला खत्रीले आफू नेकपा माओवादी केन्द्रमा जाने प्रस्ट पारेपछि एमालेको पक्षमा ४० सांसद सीमित रहेको छ ।
४० सांसदको हस्ताक्षर रहेको निवेदनमा माओवादी केन्द्रका नेता कुलबहादुर केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ ।