होमपेज / राजनीति
काठमाडौं । नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले कर्णाली प्रदेशमा जस्तै अरु ठाउँमा पनि ‘फ्लोर क्रस’ गराउने तयारी भइरहेको जानकारी पाएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलहरूले अविश्वास प्रस्ताव ल्याउन सक्ने सम्भावनाबारे आज बालुवाटारमा छलफल भएको छ।एमाले महाधिवेशन आयोजक कमिटीको आइतबारको बैठकमा अविश्वास प्रस्ताव आउन सक्नेबारे छलफल भएको हो।
आज बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ज्ञवालीले नेता माधवकुमार नेपालसहितलाई सोधिएको स्पष्टीकरणबारे उपयुक्त समयमा निर्णय हुने बताए ।“अहिले अविश्वासको प्रस्तावहरु ल्याउने कोसिस पनि भइरहेको छ । प्रतिपक्षीले ल्याउने कुरा त धेरै ठूलो कुरा भएन, कर्णाली प्रदेशमा जस्तै विभिन्न ठाउँमा फ्लोर क्रस गराउन प्रयास हुँदै छन् । आवश्यक निर्णय उपयक्त समयमा गर्छौँ, “ उनले भने ।
एमालेमा माधवकुमार नेपाल पक्षले समानान्तर गतिविधि गरिरहेको छ। उक्त समूहले फ्लोर क्रस गर्ने गरी अविश्वास प्रस्ताव आउन सक्ने भन्दै आज बालुवाटारमा छलफल भएको हो।शुक्रबारको महाधिवेशन आयोजक कमिटी बैठकले अरु सांसदको स्पष्टीकरणबारे निर्णय लिने जिम्मा स्थायी कमिटीलाई दिइसकेको छ । सोहीअनुरुप उपयुक्त समयमा निर्णय लिने ज्ञवालीले बताए ।