होमपेज / राजनीति
काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूविरुद्ध विपक्षीले अविश्वासको प्रस्ताव दर्ता गरेपछि त्यसको सामना गर्ने बताएका छन् । साथै उनले विपक्षीहरुको सो कदमलाई ‘प्रतिगामी कदम’को संज्ञा दिएका छन्। विपक्षी दलले आजै संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।
साथै गुरुङले वामपन्थीको एक्लो सरकार गैरवामपन्थीलाई सुम्पिएर माओवादी गलत राजनीतिक वेइमानी गरेको बताए । समयले, जनताले सही मूल्याङ्कन गर्ने उनले बताए । अविश्वासको प्रस्तावले मुलुकलाई अस्थिरताको बाटोमा लैजाने समेत उनले दाबी गरे।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार गिराउने आफ्नो दायित्व निर्वाह गरेको गुरुङको भनाइ छ। अविश्वास प्रस्ताव ल्याउनु ठूलो कुरा नभएको भन्दै उनले पास गरेर देखाउन विपक्षीलाई चुनौती समेत दिए।
विपक्षी दलहरूले लगाएको एउटा पनि आरोप सही नभएको मुख्यमन्त्री गुरुङले बताए। अविश्वास प्रस्तावमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले कोरोना नियन्त्रण, महंगी, बेरोजगारी, अनियमितता लगायत बढेको आरोप लगाएका थिए।