होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू नेतृत्वमा सरकार बनाउन पहल सुरु गरेका छन् । देउवाकाे प्रस्तावलाई माओवादी केन्द्रले समर्थन गरे पनि जनता समाजवादी पार्टीले थप समय माग गरेको छ।
आफ्नो निवास बूढानीलकण्ठमा सभापति देउवाले तीन पार्टीका शीर्ष नेताको बैठक बोलाएर कांग्रेस केन्द्रीय समितिले यसअघि गरेको निर्णयका बारेमा जानकारी गराएका थिए ।आजको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, देव गुरूङ थिए भने जसपाबाट अध्यक्षहरू बाबुराम भट्टराई, महन्थ ठाकुर र उपेन्द्र यादव तथा नेताहरू राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए।
“केन्द्रीय समितिको बैठकको निर्णय सुनाउँदै देउवाले राय माग्नुभएको थियो,” बैठकमा सहभागी एक नेताले भने, “प्रचण्डले ओली सरकार अहिले जसरी पनि हटाउनुपर्छ । कांग्रेसले लिएको पहल सकारात्मक छ भनेर भन्नुभयो ।”
बैठकमा सहभागी जसपा नेता राजेन्द्र महतोले महन्थ ठाकुरको भनाई उद्धृत गर्दै भने, “हामीले मधेस–थरुहट आन्दोलनका मुद्दाहरु छन् । सरकारसँग सकारात्मक कुरा भएको छ । मुद्दा फिर्ता लिने अन्तिम तयारी छ । सरकारसँगको वार्ता सकारात्मकरुपमा अघि बढेको छ । कांग्रेससँगको सहकार्यका बारेमा हामीले अहिले केही सोचेका छैनौँ ।”
यही बैठकमा देउवाले कांग्रेसको नेतृत्वमा सरकार बनाउने प्रस्ताव पहिलोपटक औपचारिक रूपमा राखेका हुन्।