होमपेज / राजनीति
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि क्षेत्रको नयाँ प्रगति जनतासामु ल्याएको दावी गरेका छन् ।ओलीले स्वदेशी बिजुलीबाटै रासायनिक मल कारखाना खोल्ने बताएका छन् ।
बिहीबार ललितपुरमा आयोजित पशुजन्य उत्पादनहरुमा आत्मनिर्भरता घोषणा कार्यक्रममा उनले देशको उत्पादनले पुग्ने भए पनि गलत बानीले गर्दा अर्बौँ बाहिरिएको बताएका हुन् ।“चामल मात्रै ३५ अर्ब, ४० अर्बको किन्छौँ, नेपालजस्तो देशले । कृषिप्रधान देशले के प्रधान भयो, आयात प्रधान ? किनेर खाने प्रधान ? कुनै गौरवको कुरा होइन,” उनले भने ।
प्रधानमन्त्री ओलीले मन्त्रीहरुले दिएको प्रतिवेदनको बचाउ गर्दै छिटो हुने भएकाले प्राकृतिक ग्याँसबाट चल्ने उद्योग बनाउनुपर्ने बाध्यता भए पनि अब सरकार बिजुलीबाटै कारखाना खोल्ने निर्णयमा पुगेको बताए । ‘देश एक कदम अघि बढेको छ । सबै नेपाली दाजुभाइ दिदी बहिनीलाई बधाई छ, यो राष्ट्रिय सफलता हो’ उनले भने ।प्रधानमन्त्री ओलीले अब नेपाली युवाहरु विदेशमा पनि काम पाउने अवस्था नरहने बताएका छन्। ओलीले हाम्रो देशको शिक्षा र सीपले अब केही वर्षमा विदेशमा पनि काम पाउने अवस्था नरहेको बताएका हुन्।
उनले भने, ‘हाम्रो शिक्षा र सीपका हिसाबले हामी जुन अवस्थामा छौं त्यसले अब वैदेशिक रोजगारमा पनि बिक्ने स्थिती छैन । कतार, साउदी, युएई सबै बनिसके, केही समयपछि हामीले केयर गिभरमा बाहेक बिक्ने अवस्था हुँदैन । त्यसैले जे गर्ने हो यहीँ गरौं।’